संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन
[ कृष्ण भुसाल ]
काठमाडौं:= विश्वमा कोरोना भाइरसको तेस्रो लहर देखिन थालेपछि नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको छ । केही समय नियन्त्रणमा देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै तेस्रो लहर सुरु हुन थालेको हो । छिमेकी देश भारतमा त दैनिक एक लाख बढी संक्रमित देखिन थालिसकेका छन् । नेपालमा पनि पछिल्ला केही दिनयता कोरोनाका बिरामीको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार शुक्रबार थप ९६८ जनामा कोरोना संक्रमण देखिएको छ ।
देशभर आठ हजार २७२ जनामा पिसिआर र ६ हजार ६९९ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । बिहीबार ५४० जनामा कोरोना संक्रमण देखिएको थियो । तर, शुक्रबार संक्रमितको संख्या ह्वात्तै बढेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या भने शून्य छ । सोही अवधिमा २६२ जना संक्रमित निको भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार सात सय ४१ जना रहेको छ । यस्तै, पछिल्लो समय दुई लाख ६३ हजार ३७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
नेपालमा अहिलेसम्म दुई करोड ५९ लाख पाँच हजार ६६३ मात्रा खोप प्रयोग भएकोमा एक करोड १० लाख दुई हजार ९७६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै, एक करोड ४९ लाख दुई हजार ६८७ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । ओमिक्रोन संक्रमण तीव्र गतिमा विश्वभर फैलिएसँगै छिमेकी मुलुक भारतसँगै बेलायत, दक्षिण अफ्रिकी मुलुकहरूमा आवश्यकताअनुसार निषेधाज्ञा जारीसँगै मुलुक प्रवेशमा कडाइ गरिसकेको छ । तर, नेपाल सरकार भने ‘पर्ख र हेर’को अवस्थामा देखिएको छ । कोरोना भाइरसको नयाँ तथा पुराना भेरियन्टको संक्रमण रोकथाममा लागिपरेको सरकारले न त सीमा नाकामा प्रवेश रोक लगाएको छ, न परीक्षण नै तीव्र पारेको छ ।
‘स्मार्ट लकडाउनमा जानुपर्ने हुन सक्छ’
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन राज्यका निकायलाई निर्देशन दिनुभएको छ । नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकमा प्रधानमन्त्रीले राज्यका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको हो ।
बैठकले तत्काल नाकालाई चुस्त बनाउने विषयमा छलफल भएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘ओमिक्रोन बढ्दैछ, नाकालाई कसरी चुस्त बनाउने भन्ने विषयमा छलफल भयो । प्रधानमन्त्रीबाट पनि निर्देशन आएको छ । भारतबाट आउनेलाई अहिले स्थानीय तहको समन्वयमा होल्डिङ सेन्टरमा राख्ने तयारी भएको छ ।’
कोरोना संक्रमण बढेको अवस्थामा स्मार्ट लकडाउनसम्म जान सकिने बारेमा पनि छलफल भएको उहाँले बताउनुभयो । तर, अहिले तत्कालै कुनै त्यस्तो निर्णय गर्ने अवस्था नरहेको बताउनुभयो । ‘निश्चित ठाउँमा हामीले केही कडाइ गर्न सक्छौँ, उहाँले भन्नुभयो, ‘तर, पहिलेजस्तो लकडाउन गर्ने अवस्था हुँदैन । भिड कम हुने क्षेत्रलाई पहिले कडाइ गर्नुपर्ने अवस्था आउन सक्छ ।’ उहाँले विद्यालयको बिदा लम्ब्याउने हो कि भन्ने विषयमा पनि कुराकानी भएको बताउनुभयो ।
तर, विभिन्न विकल्पमा छलफल गरेर अर्को बैठकमा यसबारेमा निर्णय गरिने उहाँले बताउनुभयो । बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको अवस्था र मन्त्रालयले गरिरहेको कामका बारेमा ब्रिफिङ गर्नुभएको थियो । नेपाली सेनाले पनि पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराएको थियो ।
बैठकमा कोभिडको बढ्दो दर कस्तो छ र विश्वमा कहाँ-कहाँ ओमिक्रोन कसरी वृद्धि भइरहेको छ भन्नेलगायत विषयमा छलफल भएको थियो । शुक्रबार थपिएका संक्रमितमध्ये अधिकांश जसो भारतबाट नेपाल भित्रिएका व्यक्ति रहेकाले पनि भारतसँग सीमा जोडिएको क्षेत्रमा नाकामा कडाइ गर्ने सरकारले तयारी गरेको छ ।
अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन
नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राका अनुसार पुस महिनाभर संकलित जम्मा ११४६ पोजेटिभ नमुनाहरूको एस-जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरू (२२ प्रतिशत) एस–जिन नेगेटिभ पत्ता लागेको छ । एस–जिन नेगेटिभ पत्ता लागेका २४ नमुनाहरूको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरूमा भेरियन्ट पुष्टि भएको प्रवक्ता मिश्राले जानकारी दिनुभएको छ ।
मन्त्रालयले मंसिर २० गते नेपालमा पहिलोपटक ओमिक्रोन पुष्टि भएको जनाएको थियो । मंसिर २० गते एकजना विदेशी नागरिक र उहाँको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन पुष्टि भएको थियो । त्यसपछि पुस ७ गते एक जनामा ओमिक्रोन पुष्टि भएको थियो । योसँगै नेपालमा २७ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । प्रवक्ता डा. मिश्राले ओमिक्रोन भेरियन्टले गर्दा हुन सक्ने अत्यधिक बिरामीहरूको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन र उपचारका लागि आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामग्रीहरूको पर्याप्त जोहो गर्न र स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताउनुभएको छ ।
मन्त्रालयले सीमा नाकाहरूमा कोभिड १९ को परीक्षणलाई थप सशक्त बनाउने तथा पोजेटिभ केसहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको जनाएको छ । नेपालमा एस जिन स्क्रिनिङ वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला नं २ भेरी अस्पतालमा सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ । ‘नेपालमा हालसम्म उपलब्ध तथ्यांकहरूलाई आधार मान्ने हो भने नेपालमा पनि ओमोक्रनका कारणले अत्यधिक मात्रामा कोभिड १९ का केसहरू बढ्न सक्ने सम्भावना रहेकाले सबैले थप सजगता अपनाउनुपर्ने देखिन्छ,’ मन्त्रालयले भनेको छ ।



















