काठमाडौं केन्द्रित प्रसारण लाइन छिटो सक्न दबाब।

काठमाडौं:= नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न दबाब बढाएको छ । काठमाडौं उपत्यकाभित्रको विद्युत्को बढ्दो माग धान्न र आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन प्राधिकरणले निर्माणाधीन आयोजना एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ ।

विद्युत् आपूर्ति भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका सबस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तार भूमिगत गर्ने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरणलगायतका आयोजना सञ्चालित रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले काठमाडौं उपत्यकामा दुई हजार मेगावाट विद्युत् खपत गर्ने गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ प्रसारण तथा वितरण प्रणाली पूर्वाधार बनाउन सुरु गरेको हो ।

सरकार, प्राधिकरणको लगानी, एसियाली विकास बैंक (एडिबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधारको बृहत् योजना अघि बढाइएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन आयोजनाको स्थलगत अनुगमन गरी निर्माण प्रगति, समस्या, एक वर्षभित्र सम्पन्न गर्न गर्नुपर्ने कामलगायतका विषयमा जानकारी लिनुभएको छ । उहाँले  मातातीर्थमा निर्माणाधीन २२०/१३२/३३ केभी सबस्टेसन, फुटुङ, टेकु, चोभार, भक्तपुरको ठिमी तथा चाँगुनारायणमा निर्माणाधीन १३२/३३/११ केभी सबस्टेसन, विद्युतीय तार भूमिगतलगायतको अनुगमन गरी निर्माणलाई तीव्रता दिन निर्देशन दिनुभएको प्राधिकरणले जनाएको छ ।

घिसिङले आगामी वर्षको हिउँद सुरु हुनुभन्दा अघि नै आयोजना सम्पन्न गर्न आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदार र परामर्शदातालाई निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, ‘मुख्य सडकमा विद्युतीय तार भूमिगत गर्न सडक विभागले अनुमति नदिँदा, स्थानीयले रुट परिवर्तनको माग राख्दै अवरोध गर्दा, केही स्थानमा स्थानीयले आफ्नो घरनजिक ट्रान्सफर्मर राख्न नदिँदा काम प्रभावित भएको छ, समस्या पार लगाउँदै जसरी पनि आयोजना सम्पन्न गर्नुपर्नेछ, सम्बन्धित निकायमा आवश्यक पहल र समन्वय गरिरहेका छौँ ।’ मस्र्याङ्दी र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याएर वितरण गर्न मातातीर्थमा सबस्टेसन निर्माणाधीन छ । आगामी असोजभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि ठूलो हब बन्दैछ ।

उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरको खोकना, बुङ्मती, हरिसिद्धि र लामाटार क्षेत्रमा निर्माणमा अवरोधपछि चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण प्रक्रिया अघि बढाइएको बताइएको छ । सुख्खा बन्दरगाहनजिक हिमाल सिमेन्टको जग्गामा सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने १२ रोपनी जग्गा प्राप्ति प्रक्रिया अघि बढिरहेको छ ।

मातातीर्थबाट चोभारसम्म १३२ केभी प्रसारण लाइन निर्माणाधीन रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै चाँगुनारायणमा १३२/११ केभी सबस्टेसन निर्माणाधीन रहेको छ भने स्थानीयको अवरोधका कारण लप्सीफेदी २२०/१३२/११ केभी सबस्टेसन सुरु हुन सकेको छैन । तामाकोशी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा वितरणका लागि लप्सीफेदी सबस्टेसन निर्माण गर्न लागिएको हो । खिम्तीमा रहेको न्यू खिम्ती सबस्टेसनबाट बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको चार सय केभीको डबल सर्किट तामाकोशी–काठमाडौं प्रसारण लाइन निर्माणाधीन छ ।