सितेरियोलाई बंगलादेशमा चार स्वर्ण।

एजेन्सी := बंगलादेशमा सम्पन्न बि-जी कराँते च्याम्पियनसिप-२०२१ मा नेपाल सितेरियो कराँतेका खेलाडीहरूले चार स्वर्ण पदक हात पार्न सफल भएका छन् । बंगलादेश गोजुरियो कराँते महासंघको सहयोग तथा बंगलादेश बशप संघको आयोजनामा भएको प्रतियोगितामा डिजेन डोल्मा लामाले दुई स्वर्णपदक जित्नुभएको छ । लामाले कुमिते र कातामा गरी दुई स्वर्ण प्राप्त गर्नुभएको हो ।

यस्तै पासाङ तामाङले ७० केजी तौलको कातामा स्वर्ण हात पारेको टिम व्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी गराउनुभयो । श्रेष्ठका अनुसार स्वर्ण प्राप्त गर्ने अन्यमा ग्याल्मो सोमिका लामा पनि रहनुभएको छ । उहाँले ३५ केजी तौलको कुमितेतर्फ स्वर्ण प्राप्त गर्नुभएको छ ।

यस्तै नेपाली टोलीले दुई रजत र पाँच कास्य पदक पनि जोडेको छ । पासाङ तामाङले ७० केजी र राजदेव बमजनले ६५ केजी कुमितेतर्फ रजत प्राप्त गर्नुभएको छ । यसैगरी कास्य पदक प्राप्त गर्नेमा रविन्द्र कुँवर खुलातर्फ, युरोडिस रोक्का ६० केजी, उमेश भण्डारी ५५ केजी, रविना ४५ केजी तथा उमंग बुढाथोकी १४ वर्षमुनि उमेर समूहमा रहनुभएको छ ।

च्याम्पियनसिपमा नेपालका छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ, नारायण श्रेष्ठ, प्रकाश तामाङ लामा, मिङ्मा तामाङ र गणेशलाल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो।