काठमाडौं:= प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरेअनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभएको हो ।
उहाँले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराउनुभयो । प्रधानमन्त्री देउवाले जनताको जीवनरक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्त्री तथा सचिवहरूलाई सचेत गराउनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीजीले मुलुकको विकास र सरकारले जनतालाई दिनुपर्ने जुन सेवा, सुविधाहरू छन्, त्यसलाई तीव्रताका साथ अगाडि बढाउने र जनताको जीवनरक्षाका निमित्त सरकार चनाखो हुने र विकास निर्माणलाई पनि तीव्रताका साथ अगाडि बढाउनका निमित्त सबै मन्त्री, सबै सचिवहरूलाई निर्देशन दिनुभएको छ ।
बैठकमा अर्थतन्त्रको अवस्थाका बारेमा अर्थमन्त्रीले जानकारी गराउनुभयो । समग्रतामा प्रधानमन्त्रीजीले मुलुकको अपेक्षा र जनताको अपेक्षाअनुसार सरकारले तीव्रताका साथ काम गरोस् भनेर निर्देशन दिनुभयो ।’
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभएको थियो । यता, प्रधानमन्त्री देउवाले ती समस्या समाधान गरेर जनसेवाको कामलाई रफ्तारमा अघि बढाउनुपर्ने बताउनुभएको थियो ।




















