काडिजमाथि सेभियाको कठिन जित।

म्याड्रिड:= स्पेनिस ला लिगाको दोस्रो स्थानमा आसिन सेभियाले रेलिगेसनको दबाबमा रहेको काडिजमाथि कठिन जित निकालेको छ । सोमबार राति भएको खेलमा सेभियाले काडिजलाई उसैको मैदानमा १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा सेभियालाई जिताउन लुकास ओकम्पोसले निर्णायक गोल गर्नुभयो । लुकासले ५८औँ मिनेटमा इभान राकिटिकको पासमा गोल गर्नुभएको थियो । ७५ प्रतिशत बल पोसेसनमा राखेको सेभियालाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो ।

बलियो सेभियालाई रोक्ने काडिजको रणनीति पहिलो हाफमा सफल भए पनि दोस्रो हाफमा विफल बन्यो । घरेलु मैदानमा नौवटा पोस्ट प्रहार गरेको काडिज अन्त्यमा हार खेप्न बाध्य बन्यो।

निर्णायक गोल गर्नुभएका सेभियाका लुकास ओकम्पोस ‘म्यान अफ दी म्याच’ हुनुभयो । जितसँगै सेभियाले १९ खेलबाट ४१ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको २० खेलबाट ४६ अंक छ । तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अंक छ । पराजित काडिज १४ अंकसहित १९औँ स्थानमा छ ।

सोमबार राति नै भएको खेलमा भिल्लारियलले लिभान्तेलाई ५-० गोलले हरायो । घरेलु मैदानमा भएको एकपक्षीय खेलमा भिल्लारियललाई जिताउन जेरार्ड मोरेनोले दुई गोल गर्नुभयो । बोउलाए डिया, पाउ टोरेस र मनु त्रिगेरोसले एक-एक गोल गर्नुभएको थियो । जितसँगै २८ अंक बनाएको भिल्लारियल आठौँ स्थानमा छ । आठ अंक बनाएको लिभान्ते तालिकाको अन्तिममा छ ।

अर्को खेलमा एथलेटिक बिल्बाओले १० खेलाडीमा समेटिएको ओसासुनालाई उसैको मैदानमा ३-१ गोलले हराएको छ । बिल्बाओको जितमा ओइहान सानसेटले हृयाट्रिक गर्नुभयो । ओसासुनाका किके गार्सियाको सुरुवाती गोल सान्त्वना गोलमा परिणत भएको थियो । जितसँगै २७ अंक बनाएको बिल्बाओ १०औँ स्थानमा छ । पराजित ओसासुना २२ अंकसहित १४औँ स्थानमा छ ।