काठमाडौं:= बालुवाटार जग्गा काण्डका नाइके भनिएका शोभाकान्त ढकाल राजस्व छलीमा पनि तानिएका छन् । राजस्व अनुसन्धान विभागले एक अर्ब रुपैयाँभन्दा बढी राजस्व छली गरेको अभियोगमा उनी र उनका अन्य सहयोगीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
काठमाडौंको नागार्जुन नगरपालिका–१ नर्सरीचोक स्थायी ठेगाना भएका आनसान इन्टरनेसनल प्रालिका सञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ, ललितपुर महानगरपालिका–७ सुन्धारा स्थायी ठेगाना भएका आनसान इन्टरनेसनल प्रालिका लेखापरीक्षक तथा लेखापरीक्षक कम्पनी राजेश्वर एन्ड कम्पनीका प्रोप्राइटर राजेश्वर श्रेष्ठविरुद्ध मंगलबार मुद्दा दायर गरिएको विभागले जनाएको छ।
उक्त कम्पनीले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर (भ्याट) विवरण, वित्तीय विवरण तथा आय विवरण तयार गरी कारोबार नै नभएको देखाई प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमअनुसार तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको विभागको भनाइ छ ।
विभागले राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन २०५२ को दफा ३ ले निषेधित सोही ऐनको दफा ४(क), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले भ्याटतर्फ ४२ करोड २६ लाख ७ हजार तीन सय ५१ रुपैयाँ, आयकरतर्फ ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ र लाभांशतर्फ नौ करोड ७४ लाख ८४ हजार तीन सय ७६ रुपैयाँसमेत कुल हुन आउने बिगो एक अर्ब २० करोड ४९ लाख १७ हजार आठ सय २४ रुपैयाँ मागदाबी गरेको विभागले जनाएको छ । उक्त
बिगोको शतप्रतिशत एक अर्ब २० करोड ४९ लाख १७ हजार आठ सय २४ रुपैयाँ जरिवाना तथा तीन वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ । प्रतिवादी राजेश्वर एन्ड कम्पनीका प्रोप्राइटर लेखापरीक्षक राजेश्वर श्रेष्ठलाई मतियारमा आधा सजायको मागदाबी गरिएको छ ।
विभागले पुस दोस्रो साता पनि नक्कली भ्याट बिल बनाएर राजस्व छलीमा तीन कम्पनी र व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो । विभिन्न कम्पनीका फरक-फरक व्यक्तिसँग २४ करोड ७६ लाख ८४ हजार ३७ रुपैयाँ बिगो दाबी र कैद सजायसमेत माग गर्दै मुद्दा दायर गरेको हो ।
विभागले बाराको लार्ज ट्रेड लिंक प्रालिका सञ्चालकसहित चारजनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । प्रतिवादी बनाइएकामा लार्ज ट्रेड लिंकका सञ्चालक बारा प्रसौनी गाउँपालिका–४ का अर्जुनप्रसाद पटेल, बाराको राजपुर–५ घर भई महालक्ष्मी नगरपालिका-१ बस्ने जयकिशोर साह, सिरहा रामपुर-९ पिपराका सूर्यजितप्रसाद साह र सर्लाही भक्तिपुर घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१३ काँडाघारी बस्ने तोयानाथ अधिकारी रहेका छन् ।




















