नेपालको प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ मा भारत भ्रमणमा जाँदै।

काठमाडौं:= प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणमा जानुहुने भएको छ । २६ पुसमा गुजरातको अहमदाबादमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा २५ पुसमा भारतको नयाँदिल्ली प्रस्थान गर्नुहुने भएको हो ।

सम्मेलनमा सहभागी हुनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई निम्तो पठाउनुभएको थियो। प्रधानमन्त्री देउवाका सबै भेटवार्ता गुजरातमै हुने तय भएको बताइएको छ। भारतीय प्रधानमन्त्री मोदी गुजरातमै हुने भएकाले नयाँ दिल्लीमा यसपटक भेटवार्ता नहुने प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री २५ पुसमा नयाँदिल्ली ट्रान्जिट भएर अपराह्न गुजरात पुग्नुहुने छ । भारतीय समकक्षी मोदीले विदेशी राष्ट्रप्रमुख, सरकारप्रमुख एवं प्रतिनिधिमण्डलका लागि आयोजना गर्ने स्वागत समारोहमा देउवा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । प्रधानमन्त्री देउवासहित आधा दर्जन सरकार–राष्ट्रप्रमुख गुजरात सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले भ्रमणको दोस्रो दिन २६ पुसमा भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यही दिन उहाँले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय औपचारिक वार्ता गर्नुहुने छ ।

सीमा समस्या समाधानका विषयमा प्रधानमन्त्रीले भारतसँग कसरी कुरा राख्नुहुन्छ भन्ने विषय यतिबेला चासोको विषय बनेको छ । नेपालले आफ्नो अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्रीको तहमा हुन लागेको यो पहिलो भारत भ्रमण भएकाले पनि चासोको विषय बनेको हो।प्रधानमन्त्री देउवाको भारत भ्रमणको पूर्व-सन्ध्यामा उहाँकी पत्नी आरजू राणा देउवा भारत जानुभएको थियो ।