प्राधिकरणको कार्गो नेपाल एयरलाइन्सले बोक्ने।

काठमाडौं:= नेपाल विद्युत् प्राधिकरण र नेपाल वायुसेवा निगमबीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

अब प्राधिकरणका कर्मचारी र कर्मचारीका परिवारले निगमको जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दा टिकटमा १५ प्रतिशत छुट पाउनेछन् । कर्मचारीले छुट पाउन प्राधिकरणको सिफारिसपत्रका साथै परिचयपत्र अनिवार्यरूपमा पेश गर्नुपर्नेछ । निगमको बिक्री कार्यालयबाट टिकट खरिद गर्नेले मात्र छुट सुविधा पाउने बताइएको छ ।

प्राधिकरणले निगमको उडान गन्तव्य रहेका स्थानबाट कार्गो ढुवानी गर्दा परिमाणका आधारमा ५-१० प्रतिशत छुट पाउनेछ । प्राधिकरणले आफ्ना कर्मचारीलाई सम्भव भएसम्म अन्तर्राष्ट्रिय यात्रा गर्दा निगमको जहाजमार्फत् गर्न परिपत्र गर्ने भएको छ ।

कार्यक्रममा मन्त्री आलेले डुब्न लागेको प्राधिकरणलाई उकास्न व्यवस्थापनले चालेको कदमबाट पाठ सिकेर काम गर्न निगम व्यवस्थापनलाई आग्रह गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय उडानका लागि जहाज थप्ने विषयमा निगम व्यवस्थापनले व्यापारिक योजना तयार गरी सञ्चालक समितिमा पेश गरिसकेकाले छिट्टै निर्णय गरिने बताउनुभयो ।

सचिव न्यौपानेले १८ घण्टासम्मको लोडसेडिङ अन्त्य, घाटाको संस्थाको वित्तीय तथा प्रशासनिक अवस्थालाई सुधार गरी नाफा आर्जन गरेको जस्ता प्राधिकरणका सफलतालाई मानक बनाएर निगमले पनि आफ्नो सेवालाई नियमित र भरपर्दो बनाउनुपर्ने बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले समझदारी कार्यान्वयनका लागि तत्काल परिपत्र गरिने बताउनुभयो ।