हिन्दी गीतमा नेपाली चलचित्रका भिलेन पुष्करको निर्देशन।

काठमाडौं:= नेपाली चचित्रका चर्चित खलपात्र (भिलेन) पुष्कर भट्ट अब निर्देशकको रूपमा आउनुभएको छ । निर्देशकको फड्कोको रूपमा उहाले एक हिन्दी गीतको म्युजिक भिडियो निर्देशन गर्नुभएको हो । उहाँको निर्देशन रहेको ‘जिल्ला मुरादावाद’ गीतको म्युजिक भिडियो अहिले सार्वजनिक भएको छ । गायक प्रिन्स आनन्दको स्वर र शब्द रहेको गीतमा द किंगले संगीत गर्नुभएको छ ।

राजनीतिक दाउपेचको कथा उठाइएको भिडियोमा पुष्कर भिलेनको भूमिकामै प्रस्तुत हुनुभएको छ । भिडियोमा उहाँसँगै भारतीय कलाकार सुखविंदर सिंह जसल, जगदीप बावा, परम हंस, गुलकरण सिंह र सलमान काजमीको पनि अभिनय छ । युट्युबबाट भिडियोले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

भट्टले म्युजिक भिडियोको कथामाथि वेब सिरिजसमेत बनाउनुभएको छ । ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज गर्ने उद्देश्यसहित निर्माण गरिएको वेब सिरिजलाई पुष्कर स्वयंले निर्देशन गर्नुभएको हो । केही भोजपुरी फिल्ममासमेत अभिनय गरेका भट्ट आगामी दिनमा अभिनय र निर्देशन सँगसँगै लैजाने बताउनुभएको छ । भट्टले ‘भागी भागी नजाउ’, ‘अग्नि ज्वाला’, ‘गंगाजल’, ‘बाँटुली’, ‘दोस्ती’, ‘फैसला’, ‘हिम्मतवाली’लगायत एक सय बढी फिल्ममा अभिनय गर्नुभएको छ ।