सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकद्वारा राजीनामा।

खार्तुम:= सुडानका प्रधानमन्त्रीले राजीनामा दिनुभएको छ । सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकले आइतबार आफ्नो पदबाट राजीनामा दिनुभएको हो । नागरिक शासन बहाल गर्न माग गर्दै प्रदर्शन चर्किएपछि प्रधानमन्त्री अब्दुल्लाह हामदोकले राजीनामा दिनुभएको बताइएको छ ।

टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री हामदोकले राजीनामा घोषणा गर्नुभएको हो । देशलाई अप्ठ्यारो अवस्थामा फस्नबाट जोगाउन आफूले सक्दो प्रयास गरेको तर सहमतिमा पुग्न नसकेको बताउँदै उहाँले भन्नुभएको छ, ‘मैले जिम्मेवारी फिर्ता गर्ने निर्णय गरेको छु र प्रधानमन्त्रीको रूपमा मेरो राजीनामा घोषणा गरेको छु ।’

सुडान एक ‘खतरनाक मोड’मा रहेको बताउँदै उहाँले संक्रमणकालीन अवधिको बाँकी कामहरू पूरा गर्न मद्धत गर्ने बताउनुभएको छ । गत अक्टोबर महिनामा सेनाले ‘कू’ गर्दै सत्ता कब्जा गरेपछि हामदोकलाई नजरबन्दमा राखेको थियो । त्यसपछि केही हप्ताअगाडि मात्रै उहाँलाई सेनाले प्रधानमन्त्रीमा पुनःबहाली गरेको थियो । तर, सेनासँग सम्झौता गरी प्रधानमन्त्री बनेको भन्दै उहाँको विरोध हुँदै आएको थियो ।

सुडानका नागरिकले सेनासँगको सम्झौता नमान्ने र पूर्ण नागरिक शासन बहाल हुनुपर्ने माग गर्दै आएका थिए । प्रदर्शनमा सेनाको गोली लागेर थुप्रै व्यक्तिको मृत्यु भएको छ । सन् २०१९ मा राष्ट्रपति उमर अल बसिरको सत्ता गुमेसँगै सुडानमा अन्तरिम सरकार बनेको थियो । त्यतिबेलादेखि सेना र नागरिक सरकारका बीचमा खटपट सुरु भएको थियो । प्रदर्शन रोक्ने उद्देश्यले सरकारले हालै राजधानी खार्तुममा इन्टरनेट सेवामा पनि रोक लगाएको थियो ।