काठमाडौं:= नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष तथा पूर्व–प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद नआउने बताउनुभएको छ । काठमाडौंमा सोमबार आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद नआउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कटाक्ष गर्नुभएको हो ।
माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रचण्डले पेश गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदन र प्रचण्डको राजनीतिक चरित्रमाथि टिप्पणी गर्दै ओलीले कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद नआउने बताउनुभएको हो । अध्यक्ष ओलीले माओवादी जनयुद्धमाथि पनि गम्भीर प्रश्न उठाउनुभएको छ ।
ओलीले भन्नुभयो, ‘अरूले तालिम र हतियार पनि दियो भने त जनयुद्ध सनयुद्ध पनि हुने रैछ’, ओलीले माक्र्सवादले ऐतिहासिक भौतिकवाद सिकाउने भन्दै अहिले कम्युनिष्ट भनिएकाहरू इतिहासको चेत नभएको दाबी गर्नुभयो । प्रचण्डले ओलीलाई ‘वामपन्थी नभएर ‘रामपन्थी’ भनी गरेको टिप्पणीप्रति आक्रोशित देखिनुभएका ओलीले आलोचना त्यही विन्दुबाट सुरु गर्नुभएको थियो ।
‘मैले ठोरीमा राम जन्मभूमि पर्छ भनेपछि केही मान्छेहरूलाई चिरचिराहट भएको छ’, ओलीले भन्नुभयो, ‘पहिले नेकपा हुँदा हामीसँगै भएर अहिले छुट्टिएका एकजनाले केपी ओली वामपन्थी होइन रामपन्थी हो भनेछन् ।’ ओलीले त्यस्तो टिप्पणी माक्र्सवाद नबुझेकाहरूले टिप्पणी गरेको जिकिर गर्नुभयो ।
‘हाम्रो सांस्कृतिक पृष्ठभूमिबाट आएको छैन भने त्यो हावा कम्युनिष्ट हो । हाम्रो पृष्ठभूमि नबुझी आएको कोही छ भने त्यसबाट कुनै पनि अपेक्षा गर्न सकिँदैन’, ओलीले भन्नुभयो, ‘माक्र्सवाद भनेको सुन्ने गरिएका र भन्ने गरिएका कुराहरूको पुनरावृत्ति होइन । माक्र्सवादको त जीवन र जगतसँगै वैज्ञानिक सम्बन्ध र दृष्टिकोण छ । जसलाई हामी द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद भन्छौँ । इतिहासबाट आउँछ द्वन्द्वात्मक भौतिकवाद।’
आफू नेतृत्वको तत्कालीन सरकारलाई ६४ प्रतिशत वामपन्थीहरूको समर्थन रहेको स्मरण गराउँदै ओलीले भन्नुभयो, ‘नेकपाको सरकारलाई वामपन्थीहरूको ६४ प्रतिशत समर्थन थियो । त्यही सरकार ढाल्ने, पार्टी फुटाउने, कम्युनिष्टलाई कमजोर बनाउने अनि त्यसपछि समाजवादको कुरा गर्ने ? यही हो नयाँ समाजवादको बाटो ?
प्रचण्ड–माधवलाई घिसारेर सँगै लान खोज्दा पनि उनीहरू आफ्नो बाध्यताले छुट्टिएर हिँडेको ओलीको टिप्पणी थियो । आफ्नो सरकारको बेलामा देशमा विकासको लहर आएको पनि उहाँले दाबी गर्नुभयो । जनमतले नभएर सर्वोच्च अदालतको परमादेशले आफूलाई सरकारबाट हटाएको उहाँको जिकिर थियो ।
आफूलाई सेटिङ मिलाएर आफूलाई हटाएको आरोप लगाउँदै ओलीले अहिले सर्वोच्च अदालत संवैधानिक बाटो छाडेर कान्लाबाट हिँड्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो । राष्ट्रियता र देश विकास गर्नुपर्छ भन्ने एमालेमा भन्दा अरू कोहीसँग नभएको उहाँको दाबी थियो ।
अध्यक्ष ओलीले संकीर्ण जातीय पहिचानका नाममा राजनीति गरेर मुलुकको राष्ट्रिय पहिचान नबन्ने भएकाले जात, रङ वा धर्मका आधारमा नभई वर्गीय दृष्टिकोणका आधारमा समाजलाई हेर्न र बुझ्न सक्नुपर्ने बताउनुभयो । उहाँले मुलुकमा नेताहरूका लामा भाषणको तुलनामा जनस्तरमा चेतना र परिवर्तनको बिगुल फुक्नका लागि सांस्कृतिक कर्मीका लेख, रचना र प्रस्तुतिले असाधारण योगदान दिएको बताउनुभयो ।
सो अवसरमा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले नेपालको बहुभाषिक र बहुसांस्कृतिक एवं समानताको भावयुक्त संस्कृतिका मौलिक पक्षलाई संरक्षण गर्दै वैज्ञानिक रूपान्तरणका लागि स्रष्टाहरूले पञ्चायतकालदेखि नै योगदान दिएको बताउनुभयो । एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले विश्वको परिवेशलाई समेत ख्याल गरेर कम्युनिस्ट धारलाई जनतामुखी बनाउन संस्कृतिकर्मीको भूमिका हुने बताउनुभयो ।
एमालेका जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले महासंघले सबै कलाकर्मीलाई एकतबद्ध बनाउँदै एमालेले मुलुकको पहिलो शक्तिका रूपमा स्थापित गर्ने भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, महासंघका अध्यक्ष खगेन्द्र राईलगायतले संस्कृतिकर्मीको अहिलेको कार्यभारलाई मनन गरेर जातीय पहिचानका नाममा हुने राजनीति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।




















