प्रारम्भिक नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा।

काठमाडौं:= अर्को महिना मौरिसससँग हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ३४ सदस्यीय प्रारम्भिक नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । माघको १५ र १८ गते नेपाल र मौरिससबीच दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुनेछन् । नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली टोलीको प्रशिक्षण पुस ३० गतेबाट सुरु हुनेछ । मुख्य प्रशिक्षण अब्दुल्लाह अलमुताइरीले घोषणा गरेको प्रारम्भिक टोलीमा सातजना नयाँ खेलाडी छन् ।

गोलरक्षकद्वय टिकेन्द्र थापा र शत्रुघन चौधरी, डिफेन्डर नवीन गुरुङ, मिडफिल्डर आकाश बुढा मगर, कृतिशरत्न छुन्जु, सुदीप गुरुङ तथा फरवार्ड सुशील राईले पहिलोपटक प्रारम्भिक टोलीमा स्थान बनाउनुभएको हो । घोषित टोलीको गोलरक्षकमा विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, शत्रुघन चौधरी र टिकेन्द्र थापा रहनुभएको छ । यस्तै डिफेन्डरमा अनन्त तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, नवीन गुरुङ र सुमन अर्याल हुनुहुन्छ ।

त्यसबाहेक मिडफिल्डरमा आयुष घलान, आकाश बुढा मगर, एरिक विष्ट, दिनेश हेन्जन, कमल थापा, कृतिश रत्न छुन्जु, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुभास गुरुङ, सुदिप गुरुङ, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, तेज तामाङ, दर्शन गुरुङ र विशाल राई हुनुहुन्छ । फरवाडमा आशिष लामा, अञ्जन विष्ट, विमल घर्तीमगर, मनिष डाँगी, सुमन लामा, सुनिल बल र सुशील राई हुनुहुन्छ ।