नयाँ वर्ष मनाउन अन्तरिक्षमा ‘भिड’

मस्को:= नयाँ वर्ष २०२२ को पहिलो दिन सातजना अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) र तीन अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसन तियांगोंगमा चक्कर लगाएका छन् ।

नयाँ वर्ष मनाउन गएका अन्तरिक्ष यात्रीको गतिविधिले अन्तरिक्षमा पहिलोपटक ‘भिड’ बढेको रूसी अन्तरिक्ष निकाय रोसकसमोसले जनाएको छ । यसअघि पनि नयाँ वर्षको अवसरमा विभिन्न समयमा अन्तरिक्ष यात्री अन्तरिक्षमा पुगेर नयाँ वर्षका कार्यक्रम मनाएको भए पनि यति ठूलो संख्यामा पुगेको भने पहिलो पटक हो ।

सन् २०२२ को पहिलो दिन १० अन्तरिक्ष यात्रीले पृथ्वीको कक्ष घुमेका थिए । ‘सातजनाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन र तीनजनाले चीनको तियांगोंग अन्तरिक्ष स्टेसनमा घुमेका थिए’, रूसी अन्तरिक्ष निकाय रोसकसमोसले एक विज्ञप्तिमा भनेको छ । ‘नयाँ वर्षको अवसरमा यो अन्तरिक्ष अनुसन्धानको इतिहासमै अहिलेसम्मकै ठूलो जमघट हो’, सो निकायले अगाडि भनेको छ ।