गैर आवासीय नेपाली संघ (एनआरएनए) र परराष्ट्रमन्त्रीबीच मिलाप।

काठमाडौं:= परराष्ट्रमन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन गर्न निर्देशन दिनुभएको छ । उच्च अदालत पाटनको एनआरएनएको निर्वाचन रोक्नु नहुने फैलसापछि मन्त्री खड्काले पनि निर्वाचन गर्न निर्देशन दिनुभएको हो ।

एनआरएनएका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले १०औँ महाधिवेशन तथा निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको एनआरएनएले जनाएको छ । मन्त्री खड्काले मन्त्रालयबाट कुनै हस्तक्षेप नहुने भन्दै सबै पक्षलाई समेटेर लैजान सुझाव दिनुभएको बताइएको छ ।

एनआरएनए अध्यक्ष पन्तले निर्वाचनका विषयलाई लिएर संघ मन्त्रालयविरुद्ध पाटन उच्च अदालतमा जाने बाध्यात्मक कदम भएको भन्दै आगामी दिनमा मन्त्रालयसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिमण्डलमा एनआरएनएका महासचिव डा. हेमराज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, एनआरएनए बेल्जियमका पूर्वसभापति गंगाधर गौतमलगायतको उपस्थिति रहेको थियो । निर्वाचनको विषयमा यसअघि एनआरएनए र मन्त्री खड्काबीच टकराव थियो ।