[ डम्मर बुढा मगर ]
बागलुङ:= केही समय अगाडिदेखि चर्किँदै आएको बागलुङ र पूर्वी रुकुमको सीमा विवाद अझै सुल्झिएको छैन । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको भूमे गाउँपालिकाको सिमाना पर्ने पातिहाल्नेमा वर्षौंदेखि विवाद कायमै छ । विवाद मिलाउन कोसिस गरे पनि अहिलेसम्म मिल्न सकेको छैन । भूमे गाउँपालिकाले वि.सं. २०७४ सालमा बागलुङको भू-भागमा आएर प्रवेशद्वार निर्माण गर्न थालेपछि विवाद बढेको थियो ।
दुवै जिल्लाका सरोकारवालाबीच पटक-पटक सहमति जुटाउने प्रयास भए पनि अहिलेसम्म जुट्न सकेको छैन । गत वर्ष चैतमा सीमा विवाद टुंग्याउन कार्यदल बनाइएको थियो । कार्यदलले सीमा विवाद टुंग्याउने सहमति गरेर सिमानामा पिल्लर गाड्ने भनेपछि निसीखोला गाउँपालिकाले त्यसको तयारी गरेको र भूमे गाउँपालिकाको तर्फबाट कोही उपस्थित नभएपछि विवाद कायमै रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो ।
‘पोहोर साल नै विवाद टुंग्याउनका लागि दुवै तर्फबाट कार्यदल बनाइयो, कार्यदलले एउटा निष्कर्ष निकालेर सिमानामा पिल्लर गाड्ने बनेर त्यसको तयारी गर्यो तर उताको पक्षबाट कोही उपस्थित हुनुभएन,’ अध्यक्ष पौडेलले भन्नुभयो ‘उताबाट कोही उपस्थित नभएपछि यत्तिकै रहेको छ, एक पक्षबाट सिमानामा पिल्लर गाड्दा झन् विवाद चर्किएला भन्ने हिसाबले त्यो कार्य गरिएन ।’
उहाँले भूमे गाउँपालिकाले बागलुङतिरको भू–भाग बढी मिचेको हुँदा आफूहरूले आफ्नो भू-भाग नछोडेको बताउनुहुन्छ । उहाँले आफूहरूको तहबाट विवाद मिल्न नसकेपछि प्रदेश र केन्द्र सरकारले मिलाउन आग्रह गर्ने बताउनुभयो । ‘यताको भूमि बढी मिचाइ गरेको हुँदा हामीले छोड्न सकेनौँ, अब हामीले नसकेपछि प्रदेश र केन्द्रले नै विवाद टुंग्याउला’ अध्यक्ष पौडेलले भन्नुभयो ।
दुई जिल्लाको सिमाना भएर मध्यपहाडी लोकमार्ग जोडिएपछि सिमाना क्षेत्रमा भौतिक संरचना निर्माण गर्न थालेपछि विवाद उत्पन्न भएको बताउनुभयो । भूमे गाउँपालिकाले निसीखोलाको भू-भागमा आएर प्रवेशद्वार (गेट) बनाउन थालेपछि विवाद बढेको थियो । बागलुङको भूमिमा आएर गेट बनाउन थालेपछि निर्माण गर्न रोक लगाएको निसीखोला गाउँपालिकाले जनाएको छ ।
बागलुङको भू–भागमा पर्ने रिग ताल, पाती हाल्नेलगायत विभिन्न स्थानमा रुकुम पूर्वले दाबी गर्दै आएको छ । सीमा विवाद समाधानको लागि दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सांसद, गाउँपालिका प्रमुख, कर्मचारी लगायतको टोलीले पटक–पटक छलफल गरेको थियो । मध्यपहाडी लोकमार्गले नजोडिँदा यस स्थानमा कुनै पनि विवाद आएको थिएन । त्यस स्थानमा रहेका सम्भावित पर्यटकीय क्षेत्रहरूको पहिचान पनि हुन सकेका थिएन । स्थानीय सरकारको गठन र लोकमार्गले दुवै जिल्ला जोडिएपछि दुई जिल्लाबीच सीमा विवाद हुन थालेको हो ।
दुवै जिल्लाको सिमानामा पर्ने पातीहाल्नेमा भवन निर्माण गरी व्यवसाय सञ्चालन हुँदै आएको छ । यस क्षेत्रमा दैनिक दर्जनौँ आन्तरिक पर्यटकहरू पुग्ने गर्दछन् । सिमानमा पर्ने रिग ताल र अन्य सम्भावित पर्यटकीय क्षेत्रलाई भूमे गाउँपालिकाले आफ्नो पक्षमा पार्ने खोजेको स्थानीयको बुझाई छ । आफ्नो भूमि कुनै पनि हालत आफूहरूले नछोड्ने निसीखोला गाउँपालिका–६ का स्थानीयहरूको भनाइ छ ।
सिमाना अहिले धेरै भवन निर्माण गरी व्यवसाय सुरु गरेका छन् । उक्त स्थान बागलुङमा भएको निसीखोला गाउँपालिकाले दाबी गरेको छ । मध्यपहाडी लोकमार्गको केही उत्तरतर्फ रहेको रिग ताल बागलुङले दाबी गर्दै निसीखोला गाउँपालिकाले पूर्वाधार निर्माण कार्यसमेत अघि बढाएको छ । निसीखोलाले तालसम्म जोड्ने सडकसमेत बनाएर पर्यटकलाई आकर्षित गरेको छ ।
निसीखोला गाउँपालिकाले तालसम्म मोटरबाटोले जोड्नुका साथै तालको प्रचारप्रसारमा जुटेको छ । प्रचारप्रसार गर्न थालेपछि आन्तरिक पर्यटकको बाक्लो उपस्थितिसमेत हुने गरेको छ । ताल हेर्न हरेक दिन दर्जनांै बढी आन्तरिक पर्यटक जाने गरेको स्थानीय बताउँछन् । ताल क्षेत्रबाट अनगिन्ति हिमश्रृंखला, बागलुङको अधिकांश भू-भाग, प्युठान, रोल्पा, रुकुम, गुल्मी, पर्वत लगायतका ठाउँहरू देख्न सकिन्छ ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले दुवै जिल्लाको सहमतिमा विवाद नटुंगिएपछि प्रदेश र केन्द्र सरकारलाई आग्रह गर्ने बताउनुभयो । उहाँले आफूहरूले धेरैपटक विवाद टुंग्याउन सिमाना र भूमे गाउँपालिकामा पुगेर छलफल गरे पनि सफल हुन नसकेको बताउनुभयो । यो विवादलाई जिल्लास्तरबाट टुंग्याउन नसकेपछि बागलुङ जिल्लाको पाँचौँ जिल्ला सभाले प्रदेश र केन्द्र सरकारलाई विवाद मिलाउन आग्रह गर्ने प्रस्तावसमेत पास गरेको छ ।(बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्ने ।)




















