मन्त्रिपरिषद्को निर्णय : निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान।

काठमाडौं:= सरकारले निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिएको छ । आउने राष्ट्रियसभा निर्वाचन, स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक ऐन व्यवस्थापनका लागि स्वीकृति दिएको हो । राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते तोकिएको छ । स्थानीय तहको निर्वाचन वैशाख दोस्रो साता गर्न सकिने गरी निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आउने निर्वाचनहरूलाई मध्यनजर गर्दै सञ्चालन र व्यवस्थापनका लागि विधेयक तर्जुमा गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

यसैगरी, सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायत मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन÷प्रयोगात्मक अभ्यास÷इन्ट्रनसिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

यस्तै, सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका नेपाल कृषि सेवाका वरिष्ठ माटो विज्ञ डा. गंगादत्त आचार्यलाई सार्स एग्रिकल्चर सेन्टर ढाकामा सिनियर प्रोग्राम स्पेशलिष्ट पदमा काम गर्न काजमा खटाउने निर्णयसमेत गरेको छ ।

यसैगरी, सुर्खेत जिल्लाको साबिकको लेखफर्सा, काफलकोट र लेखपराजुल गाविसहरूको जग्गा प्रशासनसम्बन्धी काम मालपोत तथा नापी कार्यालय, मेहलकुना, सुर्खेतलाई हस्तान्तरण गरी सेवा सञ्चालन गर्न स्वीकृति दिने पनि निर्णय गरेको उहाँले बताउनुभयो ।

यस्तै, नेपाली सेनाका प्रधान सेनापति, महारथी प्रभुराम शर्माको बिदा समयमा बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोक्ने राष्ट्रपतिसमक्ष सिफारिस गरिएको पनि उहाँले बताउनुभयो ।

सेनापति शर्मा २०७८/०९/१८ देखि मिति २०७८/०९/३० सम्म घर बिदामा रहनुहुने बताइएको छ ।

टाक्टोर–लामाजुरा सडकखण्डको ट्र्याक ओपन गर्न सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ मा रहेको राष्ट्रिय वन क्षेत्रभित्रका २.५७ हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्र्रदान गर्ने निर्णय पनि गरेको छ ।

आदिकवि भानु जन्मस्थल विकास समितिको अध्यक्षमा भानु–४ तनहुँ निवासी ऋषिराम पन्त र कार्यकारी निर्देशकको पदमा भानु–४ तनहुँ निवासी शंकर रानाभाटलाई नियुक्ति गर्ने निर्णय पनि सरकारले गरेको छ ।

सबै तहको निर्वाचन समयमै हुन्छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले तीनै तहको निर्वाचनमा समयमै हुने बताउनुभएको छ । सबै निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने गरी सरकारले आवश्यक तयारी गरिरहेको पनि उहाँले बताउनुभयो ।

पोखरामा स्थानीय पत्रकारहरूसँग कुरा गर्दै खाँणले जनताबाट विश्वास पाएका जनप्रतिनिधिहरूको छनोट हुने गरी सबै तहको निर्वाचन हुने बताउनुभयो । उहाँले सर्वदलीय सहमतिमा नै एमसिसी संसद्बाट पारित हुने विश्वास व्यक्त पनि गर्नुभयो । एमसिसी देश र जनताका भएको उल्लेख गर्दै गृहमन्त्री खाँणले त्यसमा सबै दलहरू सहमत हुने विश्वास व्यक्त गर्नुभएको हो ।