काठमाडौं:= ‘मिस एयरहोस्टेज २०२१’ को पाँचौँ संस्करणको ताज गोरखाकी १९ वर्षीया प्रिस्किला गुरुङले जित्नुभएको छ । फस्र्ट रनरअप आशा डंगुरा र सेकेन्ड रनरअप सृजु घिमिरे हुनुभयो । घिमिरेले पपुलर अवार्ड पनि हात पार्नुभयो ।
विजेताले एक वर्षभित्र विमान परिचारिकाको रोजगारी साथै डम डाइनामिक स्किन हस्पिटलका तर्फबाट २० हजारको गिफ्ट भौचर प्राप्त गर्न सफल हुनुभयो । मिस पर्सनालिटी प्रकृति गुरुङ, मल्टिमिडिया रेखा भण्डारी, मिस कन्फिडेन्ट साङ्मालामु शेर्पा, मिस फोटोजेनिक मेलिना राजवंशी, मिस बेस्टवाक प्रिया कर्माचार्य र बेस्टडे«सको अवार्ड समीक्षा माझीले हात पार्न सफल हुनुभयो ।
निर्णायक मण्डलमा सौन्दर्यविद् सीता न्यौपाने पाठक, साउथ वेस्टर्न स्टेट कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसी, मिस एयरहोस्टेज २०१६ की विजेता प्रियता मोक्तान, हिमालय एयरलाइन्सका एड्मिन म्यानेजर सेमन्त श्रेष्ठ, हवाई इन्जिनियर रञ्जित जैसवाल, नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन मुकेशकुमार गुप्ता र पत्रकार टिपी भुसाल रहनुभएको थियो । कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सिजन मिडियाद्वारा आयोजित कार्यक्रममा नेपालमा रहेर नेपाली हवाई उड्डयन क्षेत्रमा विगत लामो समयदेखि निरन्तररूपमा यस क्षेत्रको श्रीवृद्धिमा अतुलनीय योगदान दिने वरिष्ठ क्याप्टेन दधिराम निरौला, सीता एयरका कुशल व्यवस्थापक घनश्यामराज आचार्य, गुण एयरका प्रज्वल थापा, बुद्ध एयरका खगेन्द्र बस्नेत, क्याप्टेन विवेक खड्का, पूर्व विमान परिचारिका रेनु राई, सुवास बस्नेत, पत्रकार अच्युत पुरी, अग्नि नियन्त्रक सुनिता सिवाकोटीलगायतलाई सम्मान गरिएको थियो ।




















