दाङ := करिब तीन महिनापछि परेको हिउँदे बर्षातले किसानहरुलाई राहत भएको छ । यो पटकको बर्षातले दाङ जिल्लामा गहुँ, मसुरोलगायत तरकारी बालीलाई राहत पुगेको किसानहरुले बताएका छन् । त्यसैगरी ढिलोगरी छरेको तोरीबालीलाई समेत मद्दत पुगेको छ । यसपाली हिउँदेवालीको उत्पादन बढ्ने किसानहरुले बताएका छन् । तर चिसो मौसममा परेको दुईदिने झरीका कारण बालबालिका तथा बृद्धबद्धाहरुको स्वास्थ्य तथा उनीहरुको दैनिकीमा गम्भीर प्रभाव परेको छ ।
अत्यधिक चिसोले बृद्धबृद्धाहरु आहत भएका छन् । उनीहरुमा निमोनिया तथा दमको प्रकोप बढ्न सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । बालबालिकाहरुमा पनि निमोनिया, रुघाखोकी, भाइरल ज्वरोलगायतका समस्या हुनसक्ने भन्दै चिसोबाट जोगाउन चिकित्सकहरुले सुझाव दिएका छन् । बालबालिका तथा बद्धबृद्धाहरु यो समयमा घर बाहिर ननिस्कने, न्यानो कपडा लगाउने तथा प्रशस्त तातो झोल पदार्थ पिउन पनि चिकित्सकहरुले सल्लाह दिएका छन् ।
अत्यधिक चिसोसँगै मुलुकभर भएको बर्षातका कारण उच्च पहाडी तथा हिमाली भूभागमा बाक्लो हिमपात परेको छ । हिमाली क्षेत्रमा हिमपात भएमा मात्रै हिउँदे बाली सप्रने भएकाले त्यस क्षेत्रका किसानहरु खुसी भएका छन् । समयमै परेका हिमपातले गौ तथा जौवाली, फापरलगायतका बाली सप्रने किसानहरुको विश्वास छ । राप्तीका सल्यान, रुकुम र रोल्पाका उच्च पहाडी भू–भागमा पनि हिमपात भएको बताइएको छ । उच्च पहाडी भूभागमा हिमपात भएसँगै हिउँमा रमाउन चाहनेहरु त्यस क्षेत्रमा पुगेको विभिन्न सामाजिक सञ्जालहरुमा आएका तस्विरहरुले देखाएको छ ।
लामो समयपछि परेको मंगलवार बेलुकीदेखि दाङसहित देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम तथा जलवायु विज्ञान विभागले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हल्का बर्षा भएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । मौसममा आएको परिवर्तनसँगै चिसो ह्वात्तै बढेपछि जनजीवन भने कष्टकर बनेको छ । बुधवार दिनभरि झरी नपरे पनि पानी पर्दै रोकिने र फेरि पर्ने क्रम जारी रह्यो । पानी पर्न थालेसँगै देशभरको अधिकतम तापक्रम घटेको छ । सबैजसो ठाउँको अधिकतम तापक्रम घटेको छ । जिल्लामा पनि तामपक्रमा परिवर्तन आएको छ, दाङमा पनि यो क्रम जारी छ ।
देशभर मौसममा सुधार आउन समय लाग्ने मौसमविदहरुले बताएका छन् । बेमौसमी बर्षा र बदलीका कारण जनजीवन भने प्रभावित भए पनि यो हल्ला तथा मध्य बर्षाले भने किसानलाई राहत मिलेको छ । पहाडी जिल्लामा हिमपातले र अन्य तराई क्षेत्रमा परेको पानीले किसानहरुलाई फाइदा पुग्ने कृषि विज्ञहरु बताउँछन् । कृषि सेवा केन्द्र तुलसीपुरका प्रमुख धनराज गौतमले अहिले परेको पानीले हिउँदे बाली राम्रो हुने बताउनुभयो । उहाँले लामो समय पछि हल्का पानी परेको भन्दै यसले गर्दा बालीनालीमा फाइदै रहेको बताउनुभयो ।
किसानहरुले लगाएको गहुँ, मसुरो, चना आलुलगायतका बालीमा सिँचाई हुने बताउनुभयो । ‘यो बेमौसमी पानीले किसानहरुले लगाएको बालीमा फाइदै फाइदा छन् तर त्यति आवश्यक मात्रामा पानी पर्न भने सकेको छैन’, उहाँले भन्नुभयोे । उहाँले यो पानी धेरै पछि आएकाले यो मलिलो हुने समेत जानकारी दिनुभयो । ‘यो पानीमा हावामा रहेका ग्यासहरु मलिलो हुने हुन्छन् ठुलो पानी पर्न सके यसले मलको रुपमा पनि विरुवालाई फाइदाजनक हुन्छ –कृषिविज्ञ गौतमले भन्नुभयो । उहाँले धुँवाधुलो पनि पानीले मार्ने भन्दै स्वास्थ्यको हिसावले पनि राम्रो हुने बताउनुभयो । त्यस्तै यसरी नै पानी नपर्ने बादल र हुस्सु लाग्यो भने बालीनालीलाई असर गर्ने समेत उहाँले वताउनुभयो । ‘बर्षा भयो भने यसको फाइदै फाइदा छन् तर पानी नपरेर घाम नलाग्ने बदली मात्र ग¥यो भने असर पनि गर्छ बालीलाई’, उहाँले भन्नुभयोे ।’
त्यस्तै चिकित्सकहरुले भने जाडोसँगै विभिन्न किसिमका समस्याहरु देखिने भन्दै सजग हुन सुझाव दिएका छन् । मौसमी रुघाखोकी बढ्दै जाँदा विशेषगरी बालबालिका र वृद्धवृद्धामा छाती सम्बन्धी समस्या समेत देखिने गरेको छ । जतिसुकै सतर्कता अपनाए पनि चिसो मौसमका कारण लाग्ने मौसमी रुघाखोकी र यसका कारण हुने श्वासप्रश्वास तथा छाती सम्बन्धी समस्या बढ्ने गरेको छ । विशेषगरी धुम्रपान र मद्यपान गर्नेहरुमा यस्तो खालको समस्या आउने जोखिम उच्च रहेको बताइन्छ ।
मौसमी रुघाखोकी नै बढ्दै गई छातीसम्बन्धी समस्यामा परिणत हुने र यसले दम बढ्ने, काम गर्न गाह्रो हुने, सास फेर्न समस्या हुने जस्ता जटिल समस्याको रुप लिनसक्छ । यो अवस्था बढ्न नदिन सावधानीका उपायहरु अपाउन बालरोग विशेषज्ञ डा. किशोर खत्रीको सुझाव छ । ‘चिसोको समयमा छाती जोगाउनु महत्वपूर्ण हुन्छ । यसका लागि धुलो–धुँवा भएको स्थानमा नजाने, मास्कको प्रयोग गर्ने, न्यानो कपडा लगाउने गर्नुपर्छ’, उहाँले भन्नुभयोे । चिकित्सकका अनुसार जाडोमा तातो खाना खाँदा शरीरलाई लाभदायी हुन्छ । तातो खाना मात्र नभई शरीरलाई भित्रैबाट गर्मी गराउने खालको खाना खानु बढी लाभदायी हुन्छ ।
मौसम परिवर्तन समस्या नभएकाले जीवनशैलीमा ध्यान दिन सके रोगबाट बच्न सकिन्छ आहार–बिहार, खानपानमा ध्यान दिन सके जाडो मौसममा रोगले आक्रमण गर्न नसक्ने डा. खत्रीको भनाइ छ । मौसमअनुसारको जीवनशैली बनाउन सक्नुपर्ने चिकित्सकको सुझाव छ ।




















