युनाइटेडको जितमा स्टार खेलाडी रोनाल्डोको गोल

लण्डन:= क्रिस्टियानो रोनाल्डोले एक गोल तथा अर्को गोलका लागि असिस्ट दिएको इंग्लिस प्रिमियर लिगको खेला म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले बर्नलीलाई तीन/एक गोलअन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा रोनाल्डोसँगै स्कट म्याक टोमिनेले गोल गर्नुभयो । युनाइटेडले एक गोल उपहार पाएको थियो । बर्नलेका लागि आरोन लेनननले एक गोल गर्नुभयो ।

खेलको आठौं मिनेटमा स्कट म्याक टोमिनेको गोलबाट युनाइटेडले सुरुवाती अग्रता लिएको थियो । रोनाल्डोले मिलाई दिएको सजिलो पासमा स्कटले गोल गर्नुभएको थियो । २७औं मिनेटमा जेडान साञ्चोको प्रहार विन मिलाई लाग्दै आत्मघाती गोलमा परिणत भयो । ३५औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई ३-० ले अघि बढाउनुभयो । यस्तै ३८औं मिनेटमा आरोन लेनननले गोल गर्दै खेललाई पहिलो हाफमा तीन/एकको स्थितिमा ल्याउनुभो । तर, खेलको दोस्रो हाफमा दुवै टोलीबाट थप गोल निस्कन नसक्दा पहिलो हाफको नतिजा नै युनाइटेडको जितमा पर्याप्त बन्यो ।

जितसँगै युनाइटेड १८ खेलबाट ३१ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । समान ३१ अंक रहे पनि वेष्ट हृयाम गोल अन्तरमा अघि छ । वेष्टहृयामले एक खेल बढी खेलेको छ । एक खेल कम खेलेको टोटेनहमको ३० अंक छ । पराजित बर्नले ११ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।