डेल्टा र ओमिक्रोनले सुनामी ल्याउन सक्ने डब्ल्युएचओको चेतावनी।

जेनेभा:= विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले डरलाग्दो सुनामी ल्याउने चेतावनी दिएको छ । युरोप र अमेरिकामा ठूलो संख्यामा कोरोना संक्रमितहरू देखिँदा डब्ल्युएचओका प्रमुख एड्हानोम घेब्रेयससले कोभिडका घटनामा डरलाग्दो सुनामी आउने चेतावनी दिनुभएको हो ।

कोरोनका पछिल्ला अध्ययनले कैयौं देशमा निकै छिटो मुख्य भेरियन्ट बनेको ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै संक्रामक रहेको बताइएको छ । डब्ल्युएचओका प्रमुखले दुईवटा भेरिअन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी दिनुभएको छ । डा.टेड्रोस एड्हानोम गेहब्रेयससले भन्नुभयोे, ‘थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र थपिसकेको पनि छ । र, स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था नजिक पुगेका छन् ।’

रोयटर्सका अनुसार विश्वभरि अहिले दैनिक झण्डै नौ लाख संक्रमित पुष्टि भइरहेका छन् । शीर्ष अमेरिकी संक्रामक रोग विज्ञ डा.एन्थोनी फाउचीले सिएनएनसँग बोल्दै संक्रमणले जनवरी अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दु लिने सम्भावना रहेको बताउनुभएको छ । फ्रान्सका स्वास्थ्यमन्त्रीले त्यहाँ बढेको संक्रमणलाई चकित पार्ने किसिमको बताउनुभएको छ ।

कैयौं देशले कोभिडको तेस्रोमात्रा खोप दिनेगरी बुस्टर अभियान सुरु गरेका छन् । जसमा बेलायतसमेत छ जहाँ १२ वर्षमाथिका ५७ प्रतिशत मानिसले तेस्रोमात्रा खोप लिइसकेका छन् । डब्ल्युएचओ प्रमुखले ठूलो स्तरका बुस्टर अभियानले गरिब देशमा हुनुपर्ने आपूर्ति मोडिरहेको र त्यसले महामारी लम्ब्याउने देखिएको बताउनुभएको छ । गरिब देशहरू खोपबाट पर रहँदा त्यहाँ संक्रमण फैलने र भाइरस उत्परिवर्तन हुने थप अवसर सिर्जना हुने डब्ल्युएचओ प्रमुखको भनाइ छ ।

मुम्बईमा सार्वजनिक कार्यक्रममा प्रतिबन्ध

यता कोरोना भाइरसको प्रकोप बढेपछि मुम्बईमा सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । भारतको नयाँदिल्ली र मुम्बइमा पछिल्ला केही हप्तामा संक्रमण बढेको हो । भारतको आर्थिक राजधानी मानिने भारतीय ठूलो शहर मुम्बईमा नयाँ वर्षका कार्यक्रमको आयोजना गरिएको र त्यसका कारण झन् संक्रमण बढ्ने आशंका गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रम गर्ने काममा प्रतिबन्ध लगाएको हो ।

राति कर्फ्यु नलगाइने तर पनि मानिस जमघट हुने र समारोह गर्ने काममा प्रतिबन्ध लगाइएको मुम्बई सरकारले जनाएको छ ।यस्तै नयाँदिल्लीमा मंगलबार मुख्यमन्त्री अरविन्द केजरीवालले ‘ग्रेडेड रेस्पोन्स एक्शन प्लान’ लागू गरिएको जानकारी गराउनुभएको छ । योसँगै दिल्लीमा ‘यलो अलर्ट’ जारी गरिएको छ ।