सर्लाहीको हरिवनमा पत्रकारलाई ऊखु र तरकारीको माला।

सर्लाही:= सर्लाहीको हरिवनमा पत्रकारलाई ऊखुको लाँक्रा र तरकारीको माला लगाएर सम्मान गरिएको छ । ऊखु किसानले बिहीबार ऊखुको लाँक्रा दिएर लालबन्दीस्थित तरकारी बजार समितितर्फबाट तरकारीको माला लगाइदिएर  नौलो ढंगले पत्रकारलाई स्वागत तथा सम्मान गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

नेपाल ऊखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले यस वर्ष हालसम्म ऊखुको मूल्य कायम नभइरहेको अवस्थामा प्रदेश-२ का पत्रकार हरिवनमा भेला भएको अवसरमा ऊखुको लाँक्रा दिएर ऊखुको किसानको समस्या र पिरमर्र्का उठाइदिन आग्रह गरिएको बताउनुभयो । सरकार र उद्योगीले आफूहरूको कुरै नसुन्ने गरेको भए पनि पत्रकारले बर्सेनि ऊखु किसानका पीडा बाहिर ल्याएर ठूलो गुन लगाएको उहाँको भनाइ छ ।

पत्रकार महासंघ प्रदेश-२ समितिले हरिवनस्थित सगुन सहकारीको सभाहलमा आयोजना गरेको नैतिक पत्रकारिता आजको आवश्यकता विषयक अन्तरक्रिया तथा प्रादेशिक समितिको पाँचौँ बैठकमा उपस्थित प्रदेश समितिका सदस्य तथा अन्य जिल्लाबाट सहभागी पत्रकारलाई तरकारीको माला लगाइदिनुका साथै ऊखुको लाँक्रा दिएर सम्मान गरिएको हो ।

पत्रकारलाई उद्योग वाणिज्य संघ लालबन्दीका तर्फबाट अध्यक्ष कल्याणकुमार जोशी र महासचिव दीपेन्द्र बलम्पाकीले ढाकाटोपी तथा चेम्बर अफ कमर्स सर्लाहीका तर्फबाट अध्यक्ष रामभक्त प्रधान र महासचिव सुशील चालिसेले खादा ओढाएर सम्मान गर्नुभयो ।

पत्रकार महासंघ प्रदेश-२ समितिका अध्यक्ष राजेश कर्णको अध्यक्षतामा आयोजित प्रादेशिक समितिको बैठक सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको प्रादेशिक समितिका सदस्य शंकर श्रेष्ठले बताउनुभयो । कार्यक्रममा प्रेस काउन्सिल प्रदेश-२ का अध्यक्ष शिवहरि भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय शिव पुरी र केसी लामिछाने, अकोराबका केन्द्रीय सदस्य कृष्णकुमार एस्माली, अकोराबका प्रदेश-२ अध्यक्ष मनोज यादवलगायतले सम्बोधन गर्नुभएको थियो ।