मेयर कप राष्ट्रिय तेक्वान्दो आजदेखि सुरु।

काठमाडौं:= बागमती प्रदेश तेक्वान्दो संघको आयोजनामा प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकसहित सातै प्रदेश, एपिएफ, नेपाल प्रहरी र नेपाली सेनाका गरी ११ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष केशव पुरीले जानकारी गराउनुभयो ।

प्रतियोगितामा ग्योरोगीतर्फ १६ तथा पुम्सेतर्फ आठ स्पर्धा समावेश छन् । ग्योरोगीतर्फ उत्कृष्ट हुने पुरुष तथा महिला खेलाडीलाई जनही पाँच हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ । प्रतियोगितामा ३३० खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३२ लाख एक हजार २०० रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रदेश टोलीको यातायात, खाना र बसोबास खर्च आयोजकले बेहोर्ने अध्यक्ष पुरीले बताउनुभयो । प्रतियोगिताको मुख्य प्रायोजक काठमाडौं महानगरपालिका रहेको छ । अन्य प्रायोजकमा ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र नागार्जुन नगरपालिका छन् ।

पत्रकार सम्मेलनमा प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष प्राध्यापक प्रकाश खड्गी, प्रदेश तेक्वान्दो संघका महासचिव हरिहर ढुंगाना, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतको उपस्थिति थियो । दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइनेछ ।