माओवादी महाधिवेशन: समूहगत रिपोर्टिङ सकियो, आज अध्यक्ष दाहालले जवाफ दिने।

काठमाडौं:= नेकपा माओवादीको जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक तथा वैचारिक प्रतिवेदनमाथि समूहगत छलफलपछि रिपोर्टिङ गर्ने क्रम सकिएको छ । बिहीबार १४ समूहका टोली नेताले आफ्नो रिपोर्टिङ सकेसँगै सबै २५ समूहको सकिएको हो । यसअघि बुधबार ११ समूहका टोली नेताले रिपोर्टिङ गर्नुभएको थियो । महाधिवेशनअन्तर्गत समूहगत रिपोर्टिङ सकिएलगत्तै स्थायी कमिटी बैठक पनि बसेको छ । बैठकमा आएका सुझावहरूलाई कसरी समेट्ने भन्नेबारे सो बैठकमा छलफल भएको नेताहरूले बताएका छन् ।

बन्दसत्र शुक्रबार दिउँसो १ बजे सुरु हुने पार्टीका प्रचार विभाग सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो । समुहगत छलफलमा उठेका प्रश्नहरूको जवाफ अध्यक्ष दाहालले शुक्रबारको बन्दसत्रमा दिनुहुने उहाँले बताउनुभयो । त्यसैगरी, लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगको प्रतिवेदन पनि शुक्रबारकै बन्दसत्रमा प्रस्तुत हुनेछ । प्रचार विभाग सचिव आचार्यका अनुसार बिहीबारको बन्दसत्रमा बोल्ने समूहहरूले वैचारिक संश्लेषण गर्नुपर्ने, नेतृत्वको केन्द्रीकरण हुनुपर्ने, राजनीतिक प्रतिवेदनमा उल्लेख भएका कुराहरूको कार्यान्वयन हुनुपर्नेलगायत विषयमा धारणा राखेका थिए । त्यसैगरी, धेरैले एमसिसी परियोजना खारेज हुनुपर्ने बताएका र कतिपयले एमसिसी परिमार्जन गर्नुपर्नेमा जोड दिएका उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालको प्रतिवेदनमा नेताहरूले पूरक प्रस्ताव र सुझावहरू लिखित रूपमै पनि राखेका छन् । प्राप्त प्रस्ताव तथा सुझावहरू प्रतिवेदनमा समेट्न सम्भव भए÷नभएको अध्यक्ष दाहालले (आज) शुक्रबार जवाफ दिने उहाँले बताउनुभयो । सोमबार दाहालले बन्दसत्रमा ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेज प्रस्तुत गर्नुभएको थियो । जसमा बिहीबार सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारी, सल्लाहकारहरूको समूह ‘क’ बाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहबाट जगत सिम्खडा, समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट मानबहादुर धामी, समूह २२ बागमती प्रदेशबाट इन्द्रबहादुर थिङ, समूह ११ गण्डकी प्रदेशबाट देवेन्द्र पराजुली, ज्येष्ठ कम्युनिष्ट मञ्चको समूहबाट नन्दकुमार प्रसाई, समूह ८ लुम्बिनी प्रदेशको तर्फबाट सुदर्शन बरालमगर, केन्द्रीय विभागबाट घनश्याम रजक, समूह २५ जनवर्गीय संगठन तथा मोर्चाबाट सुरेश आलेमगर, समूह ९, लुम्बिनी प्रदेशबाट नारायण अधिकारी र प्रदेश नम्बर २ बाट भवानी थापाले दाहालको दस्तावेज र गुरुङको विधान संशोधन मस्यौदामाथि आ–आफ्नो समूहमा भएका छलफलको निष्कर्ष प्रस्तुत गर्नुभएको थियो ।

समूहगत छलफलका लागि यसअघि २५ वटा समूह गठन गरिएकोमा सम्पर्क मञ्च प्रदेशको दुई समूहलाई एउटै समूहमा राखेपछि समूहको संख्या २४ वटा बनेको थियो । समूहको छलफलबाट दाहालको दस्तावेज र गुरुङको प्रस्तावमा समर्थन आएको माओवादी केन्द्रको प्रचार तथा प्रकाशन उपसमितिले जानकारी दिएको छ ।

लेखनाथ न्यौपानेको फरक मत : ‘एमालेसँगको छापामार शैलीको एकता गम्भीर गल्ती थियो’

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले फरक मत प्रस्तुत गर्नुभएको छ । उहाँले अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि १० बुँदामा फरक मत राख्नुभएको हो । उहाँले महाधिवेशनको अर्थ, मूल्य र गुरुत्व जुन हुन्छ त्योअनुसार विषय र नीतिको कोणबाट प्रतिवेदन, प्रतिवेदनको समग्र तहमा संगठित नभएको टिप्पणी गर्नुभएको छ विचार, दृष्टिकोण र दिशामा सातौँ महाधिवेशनको प्रतिवेदनभन्दा पछाडि फर्किएको भन्दै उहाँले भित्री र बाहिरी समस्याहरूको हल दिन नसक्ने गरी अध्यक्षको प्रतिवेदन आएको बताउनुभएको हो । राजनीतिक प्रतिवेदनले माथिमाथि उडान गरेको, तर जमिनमा खुट्टा नटेकेको उहाँको बुझाइ छ ।

उहाँले पार्टीका नेता र सरकारमा गएकाहरूको पारदर्शिता नभएको समेत बताउनुभएको छ, ‘हाम्रोतर्फबाट मन्त्री भएकाहरूको कुरा छाडौँ, मन्त्रीका अधिकांश पिएहरूको मात्र सम्पत्ति छानविन गर्ने हो भने बदनामीको डरलाग्दो चित्र देखापर्दछ । यसलाई पूराका पूरा सच्याइएन भने सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने कुरा काल्पनिक मात्र होइन, बदनामीको माध्यम हुनेछ,’ उहाँले उल्लेख गर्नुभएको छ ।

एमालेसँगको एकता सबै कोणबाट सही थियो भन्ने विषय प्रतिवेदनमा उल्लेख गर्ने कुरो समग्रतामा सही नभएको उहाँले बताउनुभएको छ । एमालेसँगको चुनावी तामलमेल र कार्यगत मोर्चासम्मलाई सही मान्न सकिन्छ, तर शान्तिपूर्ण संसद्वादमा डुबेको, उदारवादी अर्थतन्त्रको घोडा चढ्ने र ओलीजस्तो दक्षिणपन्थी विचारको नेतृत्वसँग छापामार तरिकाले गरिएको एकता सैद्धान्तिक र प्रक्रियागत हिसाबले गम्भीर गल्ती रहेको उहाँको मत छ ।

अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको उहाँको मत छ । ‘तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिँदैन । सुनिन्छ त म, मेरो, मैले, प्रचण्डले मात्र । यसको एउटा उदाहरण तपाईंले नेकपा कालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको छ भने हामी भन्ने एक ठाउँमा मात्र । हामीले ओलीभित्रको ‘बा’ प्रवृत्तिले कम्युनिष्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रूपको ‘बा’ प्रवृत्ति देखिएको छ । तपाईं आफैँ सशरीर उपस्थित भएको ठाउँमा तपाईंका लस्करै तस्बिर राख्न कसले निर्देशन दिएको हो ? कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा सहिदहरूको तस्बिर राखेको भए हाम्रो संस्कृति कति सुसंगत हुन्थ्यो होला ?’ न्यौपानेले प्रश्न गर्नुभएको छ ।