काठमाडौं:= नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले राम्रो प्रशिक्षण नपाएर पनि आफूहरूले सफलता पाएको टिप्पणी गर्नुभएको छ । बंगलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेर स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मी बोल्दै अरुणाले उक्त कुरा बताउनुभएको हो ।
नेपालले मंगलबार बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इनडोर कभर्डहलमा उज्वेकिस्तानलाई ३-२ को शानदार जित निकाल्दै लगातार दोस्रो संस्करणमा च्याम्पियन बन्दै उपाधि रक्षा गर्न सफल भएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले २६-२४, २४-२६, २५-१५, २२-२५ र १५-१० ले उज्वेकिस्तानलाई हराउन सफल भएको थियो ।
‘हामीले यो सफलता त हासिल ग¥यौँ तर यो सफलताको पछाडि धेरै पीडा लुकेको छ,’ कप्तान अरुणाले भन्नुभयो, ‘हामीले जानुभन्दा अगाडि राम्रो ट्रेनिङ पाएनौं त्यस्तो अवस्थामा पनि हामीले पदक ल्याउन सफल भएका छौँ । आगामी दिनमा यो कुराहरू मिलाएर जान सक्यौँ भने अझै राम्रो सफलता पाउन सक्छौँ जस्तो लाग्छ ।’
प्रतियोगितामा नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही उत्कृष्ट सेटर चुनिनुभएको थियो । यस्तै, नेपालकै सलिना श्रेष्ठ च्याम्पियनसिपको उत्कृष्ट लिवेरो चयन हुनुभएको थियो । यस्तै, अरुणाले यो सफलताले थप जिम्मेवारी थपिएको समेत बताउनुभयो । ‘सबैले हाम्रो हौसला बढाइदिनु भएको छ । जुन सफलता हासिल गरेका छौँ । अझै जिम्मेवारी थपिएको महशुस गरेका छौँ । आगामी दिनमा अझै राम्रो गर्ने बाचा गर्न चाहन्छौँ,’ अरुणाले थप्नुभयो ।
उपाधि जितेर फर्किएको नेपाली टोलीलाई नेपाल भलिबल संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दा युवा तथा खेलकुद मन्त्रीसमेत पुग्नुभएको थियो । सेन्ट्रल जोन भलिबल च्यालेन्जकपको उपाधि रक्षा गरेको महिला टोली र चौथो भएको पुरुष टोलीसहित दुई निर्णायक र पदाधिकारीसहितको टोली बिहीबार स्वदेश फर्किएको हो ।
बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेपाली महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले नेपाल महिला भलिबलमा राम्रो भएको र अबको दिनमा भलिबलका लागि छुट्टै अन्तर्राष्ट्रियस्तरको भलिबल प्रशिक्षण स्थल आवश्यक भएको बताउनुभयो ।
प्रतियोगिता अगाडिभन्दा पनि सधैँ निरन्तर नेपाली टोलीलाई अभ्यासमा निरन्तर बनाउँदै चलयमान बनाउन सके नेपालको भलिबल निकै माथि पुग्ने नेपाली टोलीका मुख्य प्रशिक्षक भट्टले बताउनुभयो । यस्तै, उपाधि जितेर स्वदेश फर्किएपछि नेपाली महिला टोलीकी कप्तान अरुणा शाहीले पनि प्रशिक्षक भट्टले भने जस्तै भलिबललाई सुविधा सम्पन्न कभर्डहल आवश्यक भएको बताउनुभयो । कप्तान अरुणाले ग्रासरुट लेभलबाट नै भलिबलमा काम गर्न सके आउँदा दिनमा बलिया राष्ट्रमा अझै राम्रो सफलता हात पार्ने बताउनुभयो ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्ने महिला भलिबल खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णयसमेत गरेको छ । बैठकले उपाधि जित्ने १२ खेलाडीलाई जनही पाँच लाख, दुई प्रशिक्षकलाई जनही तीन लाख र एक अफिसियललाई दुई लाख रुपैयाँ नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे छ ।
नेपाली महिला टोलीलाई स्वागतमा पूmल, माला, खादासहित स्वागत गर्दा पुरुष टोली भने उपेक्षामा पर्यो । नेपाल भलिबलकी उपाध्यक्ष निरोज मास्केको नेतृत्वमा भएको स्वागत कार्यक्रममा महिला टोलीको चर्चा भयो तर पुरुष टोली भने गुमनामका साथ विमानस्थलबाट बाहिरिन पुगेका थिए । स्वागत गर्न भलिबल संघले नेपाली टोली बाहिरिएको पत्तै पाएन ।
च्याम्पियन महिला टोली राष्ट्रिय खेलकुद परिषद्को बसमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आयोजना गरेको सम्मान कार्यक्रममा सवार हुँदा पुरुष टोली भने आपूmखुसी विमानस्थलबाट बाहिरिएका थिए । पुरुष टोलीका लागि न्यु डायमण्ड एकेडेमीको बस व्यवस्थापन गरिए पनि पुरुष खेलाडी आपूmखुसी ट्याक्सी चढेर विमानस्थलबाट बाहिरिएका थिए ।
पुरुषतर्फ भने नेपाल चौथो भयो । तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा नेपालले उज्वेकिस्तानसँग १५-२५, १७-२५ र २२-२५ ले नतिजा सुम्पिएको थियो । नेपालले च्याम्पियनसिपमा पाँच खेल खेल्दा दुई खेलमा जित र तीन खेलमा हार बेहोर्यो । नेपालले लिग चरणमा उज्वेकिस्तान र माल्दिभ्सलाई हराउँदा बंगललादेश, श्रीलंका र उज्वेकिस्तानसँग हार बेहोर्यो ।
२३ डिसेम्बरबाट सुरु च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । पुरुषतर्फको आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच राष्ट्रको सहभागिता थियो ।




















