काठमाडौं:= बुधबार देशका अधिकांश ठाउँमा वर्षा र हिमापत भएको छ । मंगलबार रातिबाटै बदली भइरहेको मौसम बुधबार दिनभरि उस्तै रह्यो । देशभरि वर्षा र हिमपातसँगै जनजीवन कष्टकर बनेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा हिमपात भएको छ । हिमपातले देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । जसकारण यात्रुहरू समस्यामा परेका छन् । यो क्रम बिहीबारसम्म नै जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर परेको छ । चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
यता, सरकारले हिमालमा हिमपात र तराईंमा शीतलहर प्रभावितलाई राहत दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले हिमपात प्रभावित र शीतलहर प्रभावितलाई राहत दिने निर्णय गरेको भूमि, व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठले जानकारी दिनुभयो ।
हिमपातले जनजीवन कष्टकर, किसान भने खुसी
देशका धेरै ठाउँमा सडक अवरुद्ध हुनुका साथै टेलिफोन र इन्टरनेट सेवासमेत बन्द भएको छ । उच्च पहाडी र हिमाली जिल्लाहरूमा हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण घरपालुवा चौपायालाई चरन क्षेत्र अभाव हुँदा पशु आहाराको संकट बढ्दै गएको पशुपालक कृषकले बताएका छन् । अत्याधिक चिसोले बालवालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएको स्थानीयवासीले बताएका छन् ।
हिमाली क्षेत्रका धेरै ठाउँमा मंगलबार रातिदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन् । हिउँदे वर्षाका कारण पहाडी क्षेत्र तथा तराईका जिल्लामा लगाइएका विभिन्न बालीलाई राहत भएको कृषकले बताएका छन् । वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारीलगायतका किसानलाई फाइदा पुगेको हो ।
मनाङको माथिल्लो भेगमा पुस ११ गतेबाट नै हिमपात जारी रहेको छ । हिउँ पर्न थालेपछि केही स्थानीयवासी जिल्ला बाहिरा हिँडेका छन् । मनाङको माथिल्लो भेग थोराङ्ला, तिलिचो बेस क्याम्प र नारफुलगायतका ठाउँमा ११ गतेदेखि नै हिमपात सुरु भए पनि तल्लो भेग चामे सदरमुकाम आसपासमा भने १२ गतेबाट हिमपात सुरु भएको हो ।
प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले अहिले जिल्लाको सदरमुकामलगायत तल्लो भेगमासमेत बाक्लो हिमपात भइरहेको बताउनुभयो । हिमपातका कारण मानिस हिँडडुल गर्न कठिन भएको छ । सवारी आवगमनसमेत ठप्प भएको छ । स्थानीयवासीका अनुसार बाक्लो हिमपातले अत्यधिक चिसो बढाएको छ । चक्रिय अन्नपूर्ण पदमार्ग घुम्न पुगेका पर्यटक हिमपातका कारण प्रभावित भएका छन् ।
हिमपातका कारण अत्यधिक चिसो बढेकाले प्रहरीलाई नियमित गस्तीका लागि पठाउनसमेत समस्या भएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताउनुभयो । सशस्त्र प्रहरी प्रहरी नायब उपरीक्षक अर्जुन पौडेलले हिमपातका कारण अधिकांश सडक अवरुद्ध भएकाले आवतजावत गर्न असजिलो भइरहेको बताउनुभयो ।
उहाँका अनुसार विदेशी पर्यटकलाई सुरक्षित रहन र मौसममा सुधार नआएसम्म तिलिचो र थोरङ्लालगायत अन्य जोखिम क्षेत्रमा नजान अनुरोध गरिएको छ । गत एक हप्तामा जिल्लामा ३१ विदेशी पर्यटक भित्रिए पनि हाल २० जना जिल्लाभित्र रहेका छन् भने तीमध्ये ११ जनाले थोराङ्लापास गरी मुस्ताङ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ ।
यस्तै, पर्वतका उच्च पहाडी भेगमा हिमपात भएको छ । बिहानैदेखि जिल्लाका विभिन्न भागमा हिमपात भएको हो । पर्वत, कास्की र स्याङ्जाको संगमस्थल पञ्चासे, तीन हजार ३०० मिटरको उचाइमा रहेको जलजलाको हम्पाल क्षेत्र, लोप्रे, फलामेडाँडा, डाँडाकमेरे, डहरेदेउराली, दक्षिण पर्वतका चिसापानी र गोल्र्याङको लेकमा हिमपात भएको बताइएको छ।
मंगलबार साँझदेखि वर्षासँगै परेको हिमपातले मध्यपहाडी लोकमार्गअन्तर्गतको बागलुङ–पूर्वी रुकुम सडक खण्ड ठप्प भएको छ । हिउँले सडक ढाकिएपछि लामो तथा छोटो दूरीका यातायातका साधानहरू ठप्प भएका हुन् । बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा अत्यधिक हिमपात भएपछि यातायात ठप्प भएको हो ।
काठमाडौंदेखि पूर्वी रुकुमको लागि छुटेका गाडीहरू बीचमै रोकिएका छन् भने बागलुङ, रोल्पा र रुकुमको सिमाना पातीहाल्ने हिउँखेल्नका लागि हिउँका आन्तरिक पर्यटकहरू पनि सीपमै रोकिएको स्थानीय ओम घर्ती मगरले जानकारी दिनुभयो ।
हिमपातसँगै निरन्तर वर्षासमेत जारी रहेको छ । वर्षा र हिमपातका कारण चिसो अत्यधिक मात्रामा बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ । यता, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँलगायत हिमाली क्षेत्रमा भारी हिमपातसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो । घुन्सा क्षेत्रमा गत सातादेखि नै सामान्यरूपमा हिमपात सुरु भए पनि गए रातिदेखि निकै बाक्लो हिमपात पार्न थालेको स्थानीयवासी पेमा शेर्पाले बताउनुभयो ।
हिमपात पर्न सुरु भएसँगै विद्यार्थी विद्यालय आउन नसक्ने भएकाले गत सातादेखि विद्यालयसमेत बन्द गरेको घुन्सा आधारभूत विद्यालयका शिक्षक केल्साङ शेर्पाले बताउनुभयो । यस्तै, फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला र चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा बस्तीमा निकै बाक्लो हिमपात भइरहेको स्थानीयवासी तेन्जी शेर्पाले बताउनुभयो ।
मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला क्षेत्रमा पनि हिमपात जारी रहेको मिक्वाखोला गाउँपालिका–६ का वडाध्यक्ष डन्डु शेर्पाले बताउनुभयो । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देश मनमणि काफ्लेले जानकारी दिनभयो ।
हुम्लामा पनि भारी हिमपात भएको छ । भारी हिमपातले जिल्ला सदरमुकाम सिमकोटसहित जिल्लाभरको जनजीवन प्रभावित भएको छ । लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटबाट उत्तरका बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ । सिमकोटमा हिउँ दुई फिट जमेको छ । बुधबार हिमपातपछि हुम्ला जिल्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झरेको छ ।
जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हिमपातले नाम्खा गाउँपालिकाको लिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले बताउनुभयो । यस्तै, निरन्तररूपमा परेको हिमपातले हुम्ला सदरमुककाम सिमकोटमा झण्डै दुई फिट हिउँ जमेको छ। हिमपातले सिमकोटको तापक्रम माइनस १२ डिग्रीभन्दा तल झरेको छ ।
अत्यधिक चिसो र हिमपात भइरहेका कारण बिहानैदेखि चहलपहल हुने गाउँसमेत सुनसान जस्तै देखिएका छन् ।जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ । उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ । हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको छ ।
यता, सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च भेगमा मंगलबार रातिदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग मंगलबार रातिदेखि अवरुद्ध बनेका छन् । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा रातिदेखि हिमपात भएपछि यातायात अवरुद्ध छ । हिउँ परेपछि तराई–पहाडका जिल्लाका लागि गुडेका सवारीसाधन राजमार्गमै रोकिएका छन् । यात्रु बाटोमै अलपत्र परेको बताइएको छ ।
मंगलबार बेलुकादेखि पानी पर्न सुरु भएसँगै रातिदेखि हिमपात भएको हो । भीमदत्त राजमार्गको साहुखर्क र हगुल्टेमा बुधबार बिहानदेखि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो। सडक क्षेत्रको हिउँ पन्छाउन डोजर पठाइएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नबलबहादुर मल्लले बताउनुभयो । जिल्ला प्रहरीको टोली पनि त्यसतर्फ गएको छ । डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको छ ।
बैतडी र दार्चुलामा पनि हिमपात जारी रहेको छ । बैतडीको अनारखोली, खोड्पे, सतबाँझ श्रीभावर, गाँजरी, बाजपानी, ढोल्यामोड र देहिमाडौँ तथा दार्चुलाको ब्याश, राप्ला, घुसा र खण्डेश्वरीमा हिमपात भएको छ । हिमपातका कारण यहाँका राजमार्गसमेत बन्द छन् । अनारखोली, भालुमारे खोडपे क्षेत्रमा परेको हिमपातका कारण दशरथचन्द राजमार्ग अवरुद्ध छ । बाजपानी, ढोल्यामोड, खोडपे क्षेत्रमा परेको हिउँका कारण जयपृथ्वी राजमार्गमा पनि सवारीसाधन चल्न नसकेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
यसैगरी, सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा मंगलबार रातिबाट नै हिमपात जारी रहेको छ । जसका कारण सर्वसाधारण नागरिकलाई घर बाहिर निस्किन सकस भइरहेको छ । हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् । करिब एक फिट जति हिउँ परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ ।
शैक्षिक संस्था बन्द
लगातारको मौसम बदलीले गर्दा पानी पर्न थालेका कारण चिसो बढ्दै गएपछि देशका विभिन्न ठाउँमा शैक्षिक संस्थाहरू बन्द भएका छन् । कतिपय जिल्लामा परीक्षाहरू समेत सञ्चालनमा रहे पनि चिसोका कारण प्रभावित भएका छन्। हिमपात सुरु भएपछि चिसो बढेकाले देशका विभिन्न ठाउँमा विद्यालय आवतजावत गर्न बालकालिलाई समस्या पर्ने भएकाले विद्यालय बन्द गर्नुपरेको सूचनाहरू पनि विद्यालयहरूले जारी गरेका छन्।
बुटवल उपमहानगरपालिका सूचना नै जारी गरेर शैक्षिक संस्था बन्द गर्न आह्वान गरेको छ । उपमहानगरपालिकाले सूचना प्रकाशित गरी पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले चिसो बढ्दै गएको र तापक्रम घट्दै गइरहेका कारण विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै दुई दिनका लागि विद्यालय बन्द गर्न शैक्षिक संस्थालाई अनुरोध गरेको छ । विद्यालयले दिने वर्षे/हिउँदे बिदाबाट मिलान गर्ने गरी पुस १५ र १६ गतेका लागि बिदा आह्वान गरिएको हो । यस्तै, इलाम, ताप्लेजुङ, डोल्पा, हुम्ला, जाजरकोट, मनाङ लगायतका धेरै जिल्लाहरूमा पनि विद्यालय बन्द रहेका छन् ।
बिहीबारबाट केही सुधार हुन्छ : मौसम विभाग
पश्चिमी वायुको प्रभावले देशभरि नै जारी रहेको बदली बिहीबारबाट कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा र हिमपातको अवस्था बिहीबार बिहानबाट कम हुँदै जाने विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् गंगा नगरकोटीका अनुसार बिहीबारबाट पश्चिमी वायुको प्रभाव कम हुनेछ । उहाँले भन्नुभयो, ‘सो प्रणाली बिहीबारदेखि क्रमिक रूपमा कमजोर बन्दै जाने देखिएको छ । ’
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्रीसम्म झरेको थियो । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव चार डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको थियो ।




















