आज गुरुङ समुदायको तमु ल्होसार पर्व, सरकारद्वारा सार्वजनिक बिदा।

काठमाडौं:= आज तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख राष्ट्रिय चाड तमु ल्होसार मनाइँदै छ । यस अवसरमा सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बिहीबार तमु ल्होसार पर्वका अवसरमा बिदा दिने निर्णय गरेको हो । सरकारको निर्णयअनुसार आज देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कूटनीतिक नियोगमासमेत सार्वजनिक बिदा दिइनेछ ।

बौद्धधर्मअन्तर्गत महायान् सम्प्रदायको सांस्कृतिक पर्व तमु ल्होसार आज काठमाडौं उपत्यकालगायत गुरुङ बसोबास भएका देशका विभिन्न भागमा मनाइँदैछ । तमु ल्होसार पर्वलाई गुरुङ समुदायमा नयाँ वर्षका रूपमा लिइन्छ ।

नयाँ वर्षका रूपमा ल्होसार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातिले मनाउने गर्छन् । गुरुङ जातिले आज पुस १५ गते तमु ल्होसारका रूपमा, तामाङ लगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका रूपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार मनाउने संस्कार रही आएको छ ।

‘ल्हो’ भन्नाले वर्ष तथा ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गर्ने गरिन्छ । प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र ती वर्षलाई मुसा, गाई, बाघ, मृग, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रूपमा लिइन्छ ।

यो पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा, मन्त्रीहरू, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै अन्य दलका प्रमुख नेता र नेताहरूले शुभकामना व्यक्त गर्नुभएको छ ।