काठमाडौं:= प्रधानमन्त्री शेरबहादुर देउवाले बंगलादेशमा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि उचालेका नेपाली महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरबाट नेपाली टोलीलाई बधाई तथा थप सफलताको शुभकामना प्रदान गर्नुभएको हो । उहाँले ‘एभिसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’ मा लगातार दोस्रोपटक उपाधि जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई हार्दिक बधाई,’ लेख्नुभएको छ ।
नेपालले मंगलबार बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर कभर्डहलमा उज्वेकिस्तानलाई ३-२ को सानदार जित निकाल्दै लगातार दोस्रो संस्करणमा च्याम्पियन बन्दै उपाधि रक्षा गर्न सफल भएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले २६-२४, २४-२६, २५-१५, २२-२५ र १५-१० ले उज्वेकिस्तानलाई हराउन सफल भएको थियो ।उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही उत्कृष्ट सेटर चुनिनुभएको थियो । यस्तै, नेपालकै सलिना श्रेष्ठ च्याम्पियनसिपको उत्कृष्ट लिवेरो चयन हुनुभएको थियो ।
नेपालले यसअघि सन् २०१९ मा बंगलादेशमै आयोजित पहिलो संस्करणमा माल्दिभ्सलाई सोझो सेटमा हराएर एक सेट पनि नगुमाई उपाधि उचालेको थियो । यसपटक उपाधि यात्रामा नेपालले ६ खेलमा अपराजित यात्रा कायम राख्न सफल भए पनि सेट गुमाउन पुगेको थियो ।
पुरुषतर्फ भने नेपाल चौथो भयो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले उज्वेकिस्तानसँग १५-२५, १७-२५ र २२-२५ ले पराजित हुँदै नतिजा सुम्पिएको थियो । नेपालले च्याम्पियनसिपमा पाँच खेल खेल्दा दुई खेलमा जित र तीन खेलमा हार बेहोर्यो । नेपालले लिग चरणमा उज्वेकिस्तान र माल्दिभ्सलाई हराउँदा बंगलादेश, श्रीलंका र उज्वेकिस्तानसँग हार बेहोर्यो ।
२३ डिसेम्बरबाट सुरु भएको च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । पुरुषतर्फको आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी पाँच राष्ट्रको सहभागिता रहेको थियो ।




















