काठमाडौं := इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । युनाइटेडले घरेलु टोली न्यु क्यासल युनाइटेडसँग १-१ गोलको बराबरी खेलेको हो । सेन्ट जेम्स पार्कमा सोमबार राति भएको खेलमा घरेलु टोलीका लागि एलान सेन्ट म्याक्सिमिनले गोल गर्दा युनाइटेडका इडिन्सन काभानीले बराबरी गोल फर्काउनुभएको थियो ।
खेलको सातौं मिनेटमा नै एलान सेन्ट म्याक्सिमिनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाउनुभयो । लगत्तै युनाइटेडका काभानीले गोल गर्दै खेल बराबरीमा ल्याउनुभएको थियो । बराबरीसँगै युनाइटेडले पाँचौँ स्थानमा उक्लने मौका गुमाउँदा १७ खेलबाट २८ अंक जोडेर सातौँ स्थानमा रहेको छ । न्यु क्यासल ११ अंक जोडेर रेलिगेसन जोनको १९औँ स्थानमा छ ।




















