भारतमा कोरोना भाइरसविरुद्ध दुई नयाँ खोप र एक एन्टिभाइरल औषधिलाई स्वीकृति।

नयाँदिल्ली:= भारतमा कोरोनाभाइरसविरुद्ध प्रयोग गर्नका लागि दुईवटा नयाँ खोप र एउटा नयाँ औषधिलाई स्वीकृति दिइएको छ । भारतका केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले यसबारे जानकारी दिनुभएको हो ।

उहाँका अनुसार दुई नयाँ खोपहरू ‘कोर्बेभ्याक्स’ र ‘कोभोभ्याक्स’लाई स्वीकृति दिइएको छ । त्यस्तै नयाँ एन्टिभाइरल औषधि ‘मोल्नुपिराभिर’लाई पनि स्वीकृति दिइएको छ ।

स्वास्थ्य मन्त्री मण्डावियाले दिएको जानकारीअनुसार मोल्नुपिराभिर एक एन्टिभाइरल औषधि हो । यो औषधि भारतमा १३ कम्पनीहरूले उत्पादन गर्नेछन् । यसको सीमित प्रयोगलाई आपत्कालीन अनुमति दिइएको हो । यो औषधि कोरोना संक्रमित ती वयस्क बिरामीलाई दिइनेछ जसमा जोखिम बढ्ने खतरा धेरै देखिन्छ ।