मुम्बई := बलिउडका सुपरस्टार दिवंगत अभिनेता राजेश खन्नाको बायोपिक बन्ने भएको छ । यो बायोपिकको कमाण्ड कोरियोग्राफर तथा निर्देशक फराह खानले सम्हाल्ने बताइएको छ । चलचित्रको निर्माण अभिनेता तथा निर्माता निखिल द्विवेदीले गर्नुहुनेछ ।
राजेशको बायोपिक उहाँमाथि गौतम चिन्तमणिले लेखेको पुस्तक ‘द लोनलिनेस अफ बिइङ राजेश खन्नाः डार्क स्टार’मा आधारित हुनेछ । यो फिल्मको निर्देशनसँगै फराह किताबका लेखकसँग स्क्रिप्ट लेखनमा सहकार्य गर्नुहुनेछ ।
‘हो, मैले राजेश खन्नामाथि गौतम चिन्तामणिले लेखेको पुस्तक पढेकी छु । जुन निकै दिलचस्प पुस्तक छ । योमाथि फिल्म बनाउने हाम्रो कुराकानी भइरहेको छ । अहिलेलाई योभन्दा बढी केही बताउन असमर्थ छु’, फराहले भन्नुभएको छ ।
निर्माता निखिलले पुस्तकको अधिकार आफूले खरिद गरेकाले चलचित्र बनाउने विषयमा फराहसँग छलफल भइरहेको स्वीकार गर्नुभयो । राजेशको वास्तविक नाम जतिन खन्ना थियो र उहाले सन् १९६६ मा चेतन आनन्द निर्देशित चलचित्र ‘आखिरी खत’बाट बलिउडमा पाइला चाल्नुभएको थियो । ‘सुपरस्टार’ शब्द नै राजेशको लोकप्रियता देखेर बनाइएको थियो ।राजेशको बायोपिकमा शीर्ष भूमिका कसले निर्वाह गर्छ भन्ने निश्चित भइसकेको छैन ।




















