सोमालियाका प्रधानमन्त्री हुसैन निलम्बनमा।

मोगादिशु:= सोमालियाका राष्ट्रपति मोहमद अब्दुल्लाही मोहमदले सोमबार प्रधानमन्त्री मोहमद हुसैन रोब्लेलाई निलम्बन गरिएको घोषणा गर्नुभएको छ । संकटग्रस्त यस अफ्रिकी मुलुकमा लामो समयसम्म रोकिएको निर्वाचन सम्पन्न गर्ने सम्बन्धमा दुई नेताबीच विवाद भएपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई निलम्बन गर्नुभएको राष्ट्रपतिको कार्यालयका एक अधिकारीले बताएका छन् ।

‘राष्ट्रपतिले प्रधानमन्त्री मोहमद हुसेन रोब्लेलाई निलम्बन गर्ने र आफूले भ्रष्टाचार गरेको ठहरिएमा पदमा नरहने बताउनुभएको छ,’ राष्ट्रपतिको कार्यालयले एक वक्तव्यमा भनेको छ । प्रधानमन्त्रीलाई जमिन ओगट्ने एक मुद्दाको छानविनमा हस्तक्षेप गरेको र निर्वाचन प्रक्रियालाई लम्ब्याएको आरोप लगाउँदै निलम्बन गरिएको घोषणा गरिएको छ ।

फार्माजो भनेर चिनिने राष्ट्रपति मोहम्मद र प्रधानमन्त्री रोब्लेबीच लामो समयदेखि सत्ता सञ्चालनका विषयलाई लिएर सम्बन्ध विग्रिएको थियो । पछिल्लो घटनाक्रमले सोमालियाको राजनीतिक स्थिरतासहज नहुने नयाँ डर उत्पन्न गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको विवाद र प्रधानमन्त्रीको निलम्बनले सोमालियामा तत्काल निर्वाचन नहुने हो कि भन्ने चिन्ता थपिएको छ ।

आइतबार रोब्लेले राष्ट्रपतिले निर्वाचन प्रक्रिया तोडफोड गरेको आरोप लगाउनुभएको छ । सोमबारको निलम्बन घोषणाप्रति कुनै प्रतिक्रिया नदिए पनि रोब्लेले भन्नुभयो, ‘फार्माजोले स्वस्थ तथा विश्वसनीय निर्वाचन गर्न चाहनुभएको छैन ।’ गत अप्रिलमा फार्माजोले नयाँ निर्वाचन नगरी आफ्नो कार्यकाल लम्ब्याएपछि सरकार समर्थक तथा विपक्षी लडाकूहरूले मोगादिशुको सडकमा प्रदर्शन गरेका थिए भने दर्जनौं मानिसको झडपहरूमा परी मृत्यु भएको थियो ।