सुदूरपश्चिमेली नेपाली समाज मलेसियाद्वारा बाढी पीडितलाई रु.१ लाख सहयोग।

क्वालालम्पुर (मलेसिया):= नेपालमा गत बुधबार चीनको तिब्बत हुँदै रसुवा नाका भएर नेपाल प्रवेश गरेको भीषण बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले आर्थिक सहयोग प्रदान गरेको छ।

समाजले रु. १ लाख (एक लाख रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।

विपद्को यस कठिन घडीमा प्रभावित परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै समाजले बाढीपहिरोका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका कार्य शीघ्र र प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

सुदूरपश्चिमेली नेपाली समाज मलेसिया प्रवासमा रहेर सुदूरपश्चिमको कला, संस्कृति र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सक्रिय रहँदै आएको संस्था हो। समाजले सांस्कृतिक गतिविधिमा मात्र सीमित नभई मलेसियामा रोजगारीका सिलसिलामा कार्यरत नेपाली श्रमिक तथा समुदायका सदस्यहरूलाई दुःख–अप्ठ्यारो पर्दा मानवीय सहयोग र सामाजिक सेवामा समेत निरन्तर सक्रियता देखाउँदै आएको छ।

नेपालमा आइपरेको प्राकृतिक विपत्तिमा समेत प्रवासबाट सहयोगको हात बढाउँदै समाजले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरेको हो। समाजले विपद्को समयमा सबै नेपालीलाई एकजुट भई प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्नसमेत आग्रह गरेको छ।