बाढी प्रभावित जिल्लाका नेपालीलाई स्वदेश फर्किन मलेसियास्थित दूतावासले विशेष सहजीकरण गर्ने।

क्वालालम्पुर (मलेसिया) := मलेसियास्थित नेपाली राजदूतावासले नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिका कारण घरमा गम्भीर संकटमा परेका नेपाली श्रमिकलाई आवश्यक परेमा स्वदेश फर्किन विशेष सहजीकरण गर्ने जनाएको छ।

दूतावासले आफ्नो नियमित साप्ताहिक फेसबुक लाइभ कार्यक्रममार्फत बाढीबाट प्रभावित जिल्लाका नेपाली श्रमिकलाई पारिवारिक तथा मानवीय संकटको अवस्थामा स्वदेश फर्किन आवश्यक सहयोग उपलब्ध गराउने जानकारी दिएको हो।

हालै नेपालका रसुवालगायत विभिन्न जिल्लामा आएको भीषण बाढी तथा प्राकृतिक विपत्तिका कारण कतिपय श्रमिकका परिवार प्रभावित भएका छन्। घरमा ठूलो क्षति पुगेको, परिवारका सदस्य संकटमा परेको वा तत्काल स्वदेश फर्किनुपर्ने अवस्था सिर्जना भएका श्रमिकलाई लक्षित गर्दै दूतावासले यस्तो व्यवस्था गरेको जनाएको छ।

फेसबुक लाइभ कार्यक्रममा दूतावासका अधिकारीहरूले राहदानी (पासपोर्ट) सम्बन्धी समस्या भएमा वा रोजगारदाता कम्पनीले स्वदेश फर्किन आवश्यक सहयोग नगरेमा तत्काल दूतावासमा सम्पर्क गर्न नेपाली श्रमिकलाई आग्रह गरेका छन्।

दूतावासले समस्यामा परेका श्रमिकको रोजगारदाता कम्पनीसँग आवश्यक समन्वय गरी उनीहरूको अवस्था सहज बनाउन तथा आवश्यक प्रक्रिया पूरा गरेर सुरक्षित रूपमा स्वदेश फर्किन हरसम्भव सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

दूतावासले विपत्तिको समयमा नेपाली श्रमिकलाई एक्लो महसुस हुन नदिने र आवश्यक परेमा सम्बन्धित निकाय तथा रोजगारदाता कम्पनीसँग समन्वय गरी मानवीय आधारमा सहयोग उपलब्ध गराउने जनाएको छ।