चौथो जितसँगै नेपाली महिला राष्ट्रिय भलिबल टोली फाइनलमा प्रवेश।

काठमाडौं:= नेपाली महिला राष्ट्रिय भलिबल टोली एभिसी एसियन सेन्ट्रल जोन भलिबलको फाइनलमा पुगेको छ । आइतबार भएको खेलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपालले लगातार चौथो जितसँगै फाइनलमा स्थान बनाएको हो।

साबिक विजेता नेपालले ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा उज्वेकिस्तानमाथि सोझो सेटमा जित निकाल्यो । प्रतियोगितामा अपराजित रहेको नेपालले पहिलो सेटमा २५–२० को जित हात पारेको थियो ।

यस्तै, दोस्रो सेटमा नेपालले २५-२३ को जित निकाल्यो । तेस्रो सेटमा २५-१४ ले जित निकाल्दै नेपालले एक खेल बाँकी रहँदै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । नेपालले अब लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

नेपालको चार खेलबाट ११ अंक पुगेको छ । श्रीलंका १० अंक जोडेर दोस्रो स्थानमा रहँदा पहिलो हार बेहोरेको उज्वेकिस्तानको नौ अंक छ । किर्गिस्तानको ६ तथा बंगलादेश र माल्दिभ्सले अंकको खाता खोल्न सकेका छैनन् ।

नेपालसँग प्रतियोगिताको पहिलो हार बेहोरेको उज्वेकिस्तानको पनि फाइनल पुग्ने सम्भावना कायम छ । उज्वेकिस्तानले सोमबार श्रीलंकासँग खेल्दैछ । यो खेलमा जित हात पार्ने टोलीले फाइनलमा नेपालसँग भिड्नेछ ।

महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल मंगलबार हुनेछ ।