राष्ट्रिय दैनिक पत्रीका “हिमालय टाइम्स” ले मनायो २६औँ वार्षिकोत्सव।

काठमाडौं:= हिमालय टाइम्सले आफ्नो २६औँ वार्षिकोत्सव मनाएको छ । विगत २६ वर्षदेखि निरन्तर अग्रणी मोर्चामा रहेर सूचना, समाचार तथा तत्थ्यपूर्ण विचार र विश्लेषण प्रस्तुत गर्दै आइरहेको यस राष्ट्रिय दैनिकले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।

इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रालिद्वारा प्रकाशित यस दैनिकको वार्षित्कोत्सव कार्यक्रममा प्रमुख आतिथि महिला सुरक्षा दबाब समूहकी अध्यक्ष कल्याणी शाह, सम्पादक पुरुषोत्तम दाहाल, पूर्व-सम्पादक गोविन्द लुइँटेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै शाहले प्रेस जगतले देशको राजनीतिक पक्षलाई मात्र नभएर सामाजिक, सांस्कृतिक पक्षलाई पनि उत्तिकै महत्व दिनु अपरिहार्य भएको बताउनुभयो । उहाँले पत्रिका पाठकमाझ जाँदा असल नियत तथा निष्पक्षताका साथ प्रस्तुत हुनुपर्ने धारणा राख्नुभयो ।

पत्रिकाका सम्पादक पुरुषोत्तम दाहालले नेपालको छापा पत्रिकाले अनवरत रूपमा २६औँ वसन्त पूरा गर्नु सानो कुरा नभएको बताउँदै यसका सञ्चालक तथा कार्यकारी निर्देशक उज्ज्वल शर्मालगायतलाई आभार व्यक्त गर्दै संस्थासँग आबद्ध सम्पूर्ण पूर्व तथा वर्तमान कर्मचारीप्रति शुभकामना तथा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले हिमालय टाइम्सले निरंकुशताविरुद्ध र लोकतान्त्रिक आन्दोलनका पक्षमा सधँै आवाज उठाएको इतिहास भएको बताउँदै अब पनि लोकतन्त्र र प्रजातन्त्रको पक्षमा निगरानी गर्न कत्ति पनि विमुख नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा हिमालय टाइम्सका निवर्तमान सम्पादक गोविन्द लुइँटेलले विगतदेखि वर्तमानसम्म आएका अनेकौँ आरोह–अवरोहबीच पनि पत्रिकाको पाठकमाझ आफ्नो निरन्तर उपस्थिति नै महŒवपूर्ण भएको बताउनुभयो ।

बार्षित्कोत्सव पत्रिकाको स्थापना कालदेखि कार्यरत दुई कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो । सम्मानग्रहण गर्नेमा श्याम भुजेल र धीरेन्द्र ठाकुर हुनुहुन्छ । उहाँहरू दुवैजनाले पत्रिकाको स्थापना कालदेखि नै रहेर यस संस्थामा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको हो ।

पत्रिकाले कार्यालयका कर्मचारीबीच रहेर कार्यक्रम मनाएको छ । कार्यक्रममा पत्रिका, अनलाइन, युट्युब र प्रेससँग आबद्ध रहनुभएका सञ्चारकर्मीलगायत कर्मचारीको उपस्थिति थियो । तस्बिर : नवराज श्रेष्ठ/हिटा