नेकपा माओवादी केन्द्रको महाधिवेशन आज सुरु हुँदै।

काठमाडौं := नेकपा माओवादी केन्द्रको महाधिवेशन आज सुरु हुँदैछ । आठौं महाधिवेशनमा परिवर्तन गरिएको प्रथम राष्ट्रिय सम्मेलनको कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो १ बजे उद्घाटन हुनेछ ।

माओवादी स्थायी समिति बैठकले सम्मेलनलाई शनिबारमात्रै महाधिवेशनमा रूपान्तरण गरेको थियो । महाधिवेशनमा रुपान्तरण गर्ने निर्णयलाई अनुमोदन गर्न अहिले ८ बिहान केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

महाधिवेशनबाट अध्यक्ष बाहेकका पदाधिकारी चयन नगर्ने सम्भावना बढेको छ । महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय समितिमात्र चयन गर्ने र अन्य पदाधिकारी पछि चयन गर्ने सम्भावना रहेको माओवादी केन्द्रका एक शीर्ष नेताले जानकारी दिएका छन् । नेतृत्व चयन गर्ने सम्मेलनका लागि देशभरका प्रतिनिधि राजधानी काठमाडौँ आइसकेका छन् ।

माओवादी केन्द्रीय कार्यालयका अनुसार माहाधिवेशनमा आयोजक समितिबाट १७९ सहभागी हुनेछन् । सल्लाहकारबाट १४९, जेष्ठ कम्युनिस्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ जना राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।

प्रदेश-१ बाट ९६, प्रदेश–२ बाट १०६, वाग्मती प्रदेशबाट १२८, गण्डकी प्रदेशबाट ७४, लुम्बिनी प्रदेशबाट १०५, कर्णाली प्रदेशबाट ८७, सुदूरपश्चिम प्रदेशबाट ८४, प्रवास प्रदेशबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्मर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ । अध्यक्ष प्रचण्डले कूल १४८ प्रतिनिधि मनोनयन गरेपछि कूल प्रतिनिधि संख्या एक हजार ६३१ जना पुग्नेछ ।