कोरोनाकालमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार सन्तोषजनक।

काठमाडौं:= राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कोरोनाकालमा पनि अन्तर्राष्ट्रिय गन्तव्यमा २५ प्रतिशत बजार हिस्सा ओगटेको छ । महामारीका बेला सीमित संख्याका अन्तर्राष्ट्रिय एयरलाइन्सका उडान भएकाले व्यापार बढेको निगमकी कर्पोरेट निर्देशक अर्चना खड्काले जानकारी गराउनुभएको छ । अघिल्लो वर्ष निगमले प्रतिस्पर्धी एयरलाइन्ससँग पनि व्यापार हिस्सा राम्रै गरेको उहाँले दाबी गर्नुभयो ।

निगमले कोरोनापूर्व सन् २०१९ मा अन्तर्राष्ट्रियतर्फ १७.८० प्रतिशत व्यापार हिस्सा ओगटेको थियो । त्यस्तै सन् २०१८ मा ११.३ र सन् २०१७ मा ९.७० प्रतिशत थियो । त्यसअघि सन् २०१५ मा जम्मा ७.९० प्रतिशत रहेकामा सन् २०१६ मा १०.९० प्रतिशत व्यापार हिस्सा ओगटेको थियो ।

निगमले अन्तर्राष्ट्रियस्तरमा दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत् भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ । भारतका तीन नयाँदिल्ली, मुम्बई र बैंग्लोर तथा जापानको नारितामा, क्वालालम्पुर, हङकङ, बैंकक, दोहा र दुबईमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । नेपालले हाल ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ। हाल तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा बजार हिस्सा बढाउने गरी भएका जहाजको प्रभावकारी व्यवस्थापन र आवश्यक जहाज खरिदका लागि कार्ययोजनासाथ अघि बढेको बताउनुभयो । निगमले दक्षिण कोरिया, चीनको ग्वाङ्जाओलगायत गन्तव्यमा पनि उडान विस्तार गर्ने योजना बनाएको छ ।

पाँचवर्षे कार्ययोजना बनाएर सन् २०२७ सम्म अन्तर्राष्ट्रिय उडानमा छवटा वाइडबडी र आठवटा न्यारोबडी गरी १४ वटा जहाज खरिद गर्ने योजना बनाएको छ । निगमले अन्तर्राष्ट्रियतर्फ छ वर्षभित्र लन्डनदेखि सिड्नी तथा टोकियो, कोलकाता, ग्वाङ्जाओ, कोलम्बो, संघाई, इन्चेन, अहमदाबाद, रियाद, इन्डोनेसिया र फ्र्याङ्कफर्र्ड उडान गर्ने कार्ययोजना बनाएको छ भने तत्कालै रियादमा सातामा दुई उडान गर्ने गरी अन्तिम तयारी गरेको छ ।