[ डिबी शर्मा ]
काठमाडौं:= नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि सभापति शेरबहादुर देउवा थप शक्तिशाली बन्नुभएको छ । पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म अधिकांश संस्थापन पक्षकै उम्मेदवार विजयी भएपछि देउवा पार्टीमा थप शक्तिशाली बन्नुभएको हो । पदाधिकारीसहित १३४ जना केन्द्रीय सदस्यका लागि भएका निर्वाचनमा देउवा पक्षका ११० जना निर्वाचित भएका छन् । यो निर्वाचित कूल सदस्यको ८० प्रतिशत बढी हो।
यसमा देउवासँगै गठबन्धनमा रहनुभएका नेता कृष्णप्रसाद सिटौला पक्षका पनि केही छन् । अझै देउवासँग ३३ जना मनोनित गर्ने अधिकार पनि छ । मनोनितमा पनि अधिकांश सभापति देउवाले चाहेकै व्यक्ति हुनेछन् । केन्द्रीय कार्यसमितिमा ८० प्रतिशत बढी देउवा पक्षकै भएकोले देउवा यसअघिकोभन्दा झन शक्तिशाली बन्नुभएको हो । ३५ जना केन्द्रीय सदस्य (खुला) का लागि भएको निर्वाचनमा देउवा पक्षका २५ जना विजयी भए । महिला (खुला)तर्फ र दलितबाट चयन हुने नौ÷नौ देउवा पक्षका आठ÷आठ जना निर्वाचित भएका छन् ।
मधेसीतर्फको केन्द्रीय सदस्यमा पाँच जनामध्ये चार जना देउवा पक्षबाट विजयी भए । मुस्लिमतर्फ तीन जना देउवा पक्षकै उम्मेदवार विजयी भए । थारुतर्फ देउवा पक्षले क्लिनस्वीप नै ग¥यो । अपांगता, अल्पसंख्यक र पिछडिएको क्षेत्रबाट चयन हुने एक/एक जनामा सबै देउवा पक्षकै उम्मेदवारहरू विजयी भए । पदाधिकारीमा पनि देउवा पक्षकै वर्चश्व छ । यद्यपि शक्तिशाली मानिने दुई जना महामन्त्री भने देउवाइतरका छन् । कांग्रेसमा १६७ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ ।
केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार(आज) बस्ने भएको छ । शनिबार दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्न लागेको हो । शनिबार बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यलाई प्रमाणपत्र वितरण गरेलगत्तै केन्द्रीय समिति बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा सभापति देउवाले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिने, नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यलाई स्वागत गर्नेलगायतका एजेण्डा छन् । यस्तै पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन हारेका शीर्ष नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनय गर्ने तयारी छ । कांग्रेसले बैठकको निर्णयसहित शनिबार नै आयोगमा राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिने पौडेलले बताउनुभयो ।
आयोगले यसअघि सो प्रयोजनका लागि यही पुस १० गतेसम्म अन्तिम म्याद तोकी सूचना प्रकाशन गरेको थियो । गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका थिए । यसबाहेक नयाँ विधानअनुसार सभापतिले ३३ जना मनोनित गर्न बाँकी छ ।
प्रदेश २ सभापतिमा देउवा पक्षका यादव निर्वाचित
नेपाली कांग्रेस प्रदेश नम्बर २ को सभापतिमा कृष्ण यादव निर्वाचित हुनुभएको छ । उहाँ ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी रामसरोज यादवले ८५५ मत मात्र प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार सभापति पदमा खसेको मतमध्ये ३० मत बदर भएको जनाइएको छ ।
प्रदेश सभापतिमा निर्वाचित कृष्ण नेपाली कांग्रेस रौतहटका सभापति हुनुहुन्छ भने रामसरोज कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुनुहुन्छ । निर्वाचन समिति संयोजक प्रह्लाद गौतमका अनुसार सतसठ्ठी पदका लागि बिहीबार भएको मतदानमा कूल एक हजार ९५१ मतदातामध्ये एक हजार ८८१ मत खसेको थियो ।




















