काठमाडौं:= एभरेस्ट सूर्य बोहोराको लेखन र निर्देशन रहेको चलचित्र ‘हेल्लो जिन्दगी’ को पहिलो झलक सार्वजनिक भएको छ । सत्य घटनामा आधारित सामाजिक कथाको यो चलचित्र आगामी चैत ११ गते सिनेमाघरमा आउँदै छ ।
चलचित्रमा विक्रम डी जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, एभरेस्ट सूर्य बोहोरा, विल्सनविक्रम राई, विक्रान्त बस्नेत, सविता गुरुङ, सनमकुमार वैराग, जानकी पन्त (जुन), ध्रुुव दत्त, कुमुद पन्तलगायत कलाकारको अभिनय छ ।
युके र नेपालमा छायांकन गरिएको चलचित्रको निर्मातामा हिरालाल जोशी र विक्रम डी जोशी हुनुहुन्छ । सिर्जना जोशी महर्जन कार्यकारी निर्माता रहेको चलचित्रको कथा निर्देशक बोहोरा र विक्रमको हो भने पटकथा र संवादमा निर्देशक बोहोरालाई अभिमन्यु निरवीले साथ दिनुभएको छ ।
निर्देशक बोहोराकै शब्द रहेको चलचित्रमा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल, प्रताप दास, प्रविशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेको गीतमा विष्णु देवाको कोरियोग्राफी छ । आरआर फिल्मस्ले वितरण गर्ने चलचित्रको डिजिटल राइट्स ओएसआर डिजिटलले लिएको हो ।
महारानी इन्टरटेन्मेन्ट युके र एभरेस्ट सूर्य बोहोरा फिल्मस्को सहकार्यमा वीरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रमा सविता गुरुङ सहनिर्माता हुनुहुन्छ । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, सम्राट बस्नेतको द्वन्द्व र मित्र डी गुरुङको सम्पादन छ ।




















