कन्ट्रोभर्सीसँग नडराउने अभिनेता पल शाह।

काठमाडौं:= आजभन्दा पाँच वर्षअगाडि निर्माण भएको ‘नाइँ नभन्नु ल ४’ चलचित्रबाट ठूलो पर्दाको यात्रा सुरु गर्नुभएका नायक पल शाह अहिलेका सुपरस्टार हुनुहुन्छ । चलचित्रको यात्रा पाँच वर्षअघिबाट सुरु गरे पनि म्युजिक भिडियोमा भने पल झण्डै एक दशकअघिदेखि नै सक्रिय हुनुहुन्छ । विशेषगरी गायक सुनिल गिरीको ‘को होला त्यो’ बोलको गीतको भिडियोमा अभिनय गरेपछि पलको मोडलिङको सुखद यात्रा सुरु भएको थियो । आजसम्म आइपुग्दा पलले सातवटा चलचित्रमा काम गरिसक्नुभएको छ भने हजार बढी गीतमा मोडलिङ गर्नुभएको छ ।

पल अहिले म्युजिक भिडियोमा एकछत्र राज गरिरहनुभएका नायक हुनुहुन्छ । विशेष गरी नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा विभिन्न सामाजिक कार्यमा सरिक भएसँगै लकडाउनको अवस्था साम्य भएपछि एकपछि अर्को म्युजिक भिडियोमा कामको चाप बढ्यो । पल शाहलाई कोरोना भाइरसले फाइदा पुर्‍यायो भन्ने पनि धेरै छन् ।

गत वर्ष कोरोना कहरले कला क्षेत्र थलिएकै अवस्थामा पलले अभिनय गरेको ‘फूलबुट्टे सारी’ बोलको गीत सार्वजनिक भयो । उक्त गीतले अत्यधिक चर्चा पायो । त्यसै कारणले पनि पललाई महिनामा २५ वटासम्म म्युजिक भिडियोमा काम गर्ने मौका मिल्यो । यो अवधिमा उहाँ विभिन्न विवाद (कन्ट्रोभर्सी) मा पनि पर्नुभयो । चलचित्रको समयमा आफूले काम गरेका नायिकाहरूसँगको प्रेमचर्चा त योभन्दा अगाडि पनि हुँदै आएका हुन् । तर, यसपटकको प्रेमचर्चा बढी नै हल्ला भयो र पललाई तनाव सिर्जना पनि गर्‍यो ।

गायिका समीक्षा अधिकारी र पलको सम्बन्धबारे विभिन्न चर्चा चले । यो जोडी प्रेममा रहेको र विवाह गर्नेसम्मको स्थितिमा पुगेको भन्ने हल्ला चलिरहँदा दुवैजनाले आफूहरू प्रेममा नरहेको प्रष्ट पार्नुभएको थियो । हामीसँगको बसाइमा उहाँले आफूलाई यसरी प्रस्तुत गर्नुभयो :-

आफू सही भए कन्ट्रोभर्सीले केही गर्दैन

जिन्दगीमा उतारचढाव त भइहाल्छ । मानौँ हामी कुनै यात्रामा छौँ भने निकै सिधा बाटो हिँडिरहँदा त्यहाँ ब्रेकको अनुभव खासै हुँदैन तर बाटोमा अप्ठ्यारा छन् भने त्यहाँ ब्रेकको अनुभव मज्जैले लिन सकिन्छ, भनेझैं जिन्दगीमा आइपर्ने उतारचढावलाई व्यवस्थापन गर्दै लैजानुपर्छ । पछिल्लो समय मेरो जीवनमा आएको विवादले मलाई कुनै अप्ठ्यारो बनाएको छैन किनकि म आफू सही छु । आफू गलत हुनुभएन, कुनै पनि किसिमका विवादले केही गर्न सक्दैन । त्यस्ता किसिमका विवाद आए भने कसरी आए के कारणले आए भनेर अध्ययन गर्नतर्फ लाग्छु तर अत्तालिने गर्दिनँ ।

इच्छाशक्ति भए समय व्यवस्थापन

नायक पलले आफूले कुनै पनि कामको जिम्मेवारी लिइसकेपछि पूरा गर्नुपर्ने बताउनुभयो । साथै समय व्यवस्थापन भन्ने कुरा आफ्नो इच्छाशक्तिमा पनि भर पर्ने उहाँको भनाइ छ । ‘मैले कुनै पनि काम गर्नुपर्छ, यो काम मेरो जिम्मा हो भनेर मनमा लिएपछि समय व्यवस्थापन गर्न गाह्रो हुन्छ जस्तो लाग्दैन,’ पलले हिमालय टाइम्ससँग भन्नुभयो । ‘आफ्नो समय मिल्नेसम्म कामहरू लिने र त्यहीअनुसारको प्लान गर्ने हो भने समय व्यवस्थापन हुन्छ जस्तो लाग्छ ।’

नायक पल कोरोना कहरपछि बढी व्यस्त हुनुभयो । कोरोना कहरयताको समयमा पल आफूलाई निकै धेरै दर्शकले चिनेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मलाई कोरोनाभन्दा अघि जतिले चिन्नुहुन्थ्यो कोरोनाको समययता अहिले त्यो दोब्बर भएको छ ।’

उहाँले पछिल्लो एक वर्षभित्र थारु जातिको गीतमा पनि काम गर्ने अवसर मिलेको र थारुसँगै अन्य जातिका दर्शक पनि बढेकोमा खुशी व्यक्त गर्नुभयो । पश्चिमको एक कार्यक्रममा जाने समयलाई सम्झँदै उहाँ भन्नुहुन्छ, ‘म केही दिनअघि पश्चिमको एक कार्यक्रममा गएको थिएँ । त्यहाँ थारु समुदायका दर्शक बढी हुनुहुन्थ्यो । हाम्रो थारु गीतमा खेल्ने हिरो आउनुभयो भनेर दिएको सम्मान भुल्न सक्दिनँ ।’

म्युजिक भिडियोबाटै स्टार

पलले चलचित्रमा काम गर्नुपूर्व थुप्रै म्युजिक भिडियोमा काम गरिसक्नुभएको थियो । भिडियोकै चर्चाका कारण उहाँलाई चलचित्रमा काम गर्ने अवसर मिल्यो । चकलेटी अनुहार भएकाले पनि उहाँलाई मन पराउने युवा जमात धेरै छ । अहिले पनि पललाई चिन्ने दर्शकमध्ये अधिकांशले म्युजिक भिडियोबाटै चिनेका छन् । पल नेपालमा हलमै पुगेर चलचित्र हेर्ने दर्शक जम्मा तीनदेखि चार प्रतिशतमात्र रहेको बताउनुहुन्छ । उहाँ भारतकै उदाहरण दिँदै भन्नुहुन्छ, ‘भारतमा मात्रै पनि हलमै पुगेर चलचित्र हेर्ने दर्शक ६० प्रतिशत छन् तर नेपालमा तीन–चार प्रतिशतभन्दा बढी छैनन् । किनकि नेपालमा त्योसम्मको स्रोतसाधन, सुविधा छैन । म्युजिक भिडियो भने मोबाइल र टेलिभिजनबाट सहजै हेर्न सकिन्छ, त्यसैले पनि म्युजिक भिडियोबाट धेरै दर्शकले चिन्नुहुन्छ ।’ पलले कोरोना कहरपछि मात्रै पनि लगभग दुई सय म्युजिक भिडियोमा काम गरेको बताउनुभयो ।

चलचित्रको कन्टेन्ट बलियो भए डराउनुपर्दैन

नेपाली चलचित्र कोरोना कहरपछि उकासिन सकेको छैन । निर्माण भएर बसेका चलचित्र हलमा लाग्न सकेका छैनन् । हलसम्म दर्शकको उपस्थिति होला कि नहोला भन्ने दुविधाले निर्माताहरूले हलमा चलचित्र लगाउने आँट गरेको देखिँदैन । केही चलचित्र प्रदर्शन भएसँगै फ्लप भइरहेका छन् भने केही चलचित्रले प्रदर्शन मिति पनि तोकेका छन् । यसैबीच नायक पल अभिनित ‘म यस्तो गीत गाउँछु २’ चलचित्र आउँदो माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ । निर्माण टिमले प्रदर्शन मिति तोकेसँगै पलले चलचित्रको प्रमोसन थाल्नुभएको छ । अहिलेको समयमा तपाईंको चलचित्रले दर्शकलाई हलसम्म तान्न सक्ला भन्ने प्रश्नमा पल भन्नुहुन्छ, ‘कोरोना कहर भने पनि अहिले हलहरू सबै खुलिसकेका छन् । केही विदेशी चलचित्रले दर्शकले चलचित्र हेर्न खोजिरहनुभएको छ भन्ने उदाहरण देखाइसकेका छन् । मुख्य कुरा त चलचित्रको कन्टेन्ट नै बलियो हुनुपर्छ । चलचित्रमा के छ, कुन विषयवस्तुमा कसरी बनेको छ, त्यो दर्शकलाई मन पर्छ भने डराउनुपर्ने अवस्था छैन ।’ पलले ‘म यस्तो गीत गाउँछु-२’ का लागि आफू उत्साहित रहेको बताउनुभयो । साथै उहाँले परीक्षा दिएर रिजल्टको पर्खाइमा रहेका विद्यार्थी जति ढुकढुकी र डरमा हुन्छन् त्यति नै आफूमा पनि डर रहेको बताउनुभयो ।

पारिश्रमिक धेरै लिएको छैन 

नायक पल शाह पछिल्लो समयका अत्यधिक डिमान्डेड मोडल भएकाले पनि म्युजिक भिडियोमा उहाँको पारिश्रमिक बढी मानिन्छ । पलले एक म्युजिक भिडियोमा काम गरेको एकदेखि डेढ लाखसम्म लिने गर्नुभएको छ । साथै एक चलचित्रमा २० लाखमाथि पारिश्रमिक लिने गर्नुभएको छ । तपाईंलाई जो पायो त्यसले भिडियोमा काम गराउन सक्दैन भन्छन् नि भन्ने प्रश्नमा पल भन्नुहुन्छ, ‘निकै कम बजेटमा भिडियो बनाउँछु भन्नेहरूले मलाई लिन सक्नुहुन्न । तर, राम्रो भिडियो बनाउने सोचमा रहनुभएकालाई मेरो पारिश्रमिक धेरै हो जस्तो लाग्दैन ।’ पलले आफूले लिने पारिश्रमिकमा चिनेजानेका आधारमा केही तलमाथि हुने गरेको बताउनुभयो ।