जंगली जनावर पीडितको चित्कार! ‘स्थानीय निकायले हेरेन, बसाइँ सर्न पैसा छैन’

[ राधिका बुढाथोकी ] 

सिन्धुली:= सिन्धुलीको दुधौली नगरपालिका-३ तल्लो खुट्टेपानीमा बुधबार विहान २ बजे तीन वटा जंगली हात्तीको समूह बस्तीमा पसे । चिसोमा न्यानो भएर घरभित्र सुतिरहेका स्थानीयको भागदौड चल्यो । बालबालीका बढी डराए । अविभावकहरू गणेश भगवानको पुकार गर्दै आफूहरूको सुरक्षा गरिदिनु भन्दै बिन्ती बिसाउन थाले । नभन्दै कविराज खत्री र मुसो अधिकारी दनुवारले मेलमा कुटाउन सुकाएर बोरामा राखेको धान नष्ट गरेर माथिल्लो खुट्टेपानी हुँदै झुंगा खहरेबाट हात्तीको समूह जंगलतर्फ लम्कीए ।

यसको अघिल्लो रात कालापानीमा सात घर भत्काउनुका साथै भकारीको ३० मुरी धान खाएको वडा अध्यक्ष साने धामीले जानकारी दिनुभयोे । उहाँका अनुसार हात्तीले स्थानीय दीपलाल धामी, प्रेमलाल कुमर, रीतलाल कुमर, रती धामी, दोर्जे मोक्तान, तेजनाथ अधिकारी र बालकुमारी धामीको घर भत्काइदिएको हो ।

घर भत्काउनुका साथै ६ मुरी धान, १६ पाथी चामल र तीन मुरी मकै हात्तीले नष्ट गरिदिएको पीडित तेजनाथ अधिकारीले दुखेसो गर्नुभयो । रातभर बिजुली बत्ती र धुनी बालेर बस्दा पनि हात्तीले दुख दिन छाडेन, ‘उहाँले भन्नुभयो, ‘रातभर सुत्न सक्दैनौँ हात्तीको त्रासले, परिवारसँगै गाँस र बास कसरी जोगाउने भन्ने चिन्ता बढेको छ ।’

यसअघि शुक्रबार (पुष ३ गते) राति दुधौली–११ माथिल्लो पत्रिगांको मुसहर बस्ती र गैरीमा २८ घर हात्तीले भत्काइदिएको वडा अध्यक्ष कुमार लामाले जानकारी दिनुभयो । यस्तै हर्षाहीमा पनि दुई घर भत्काइदिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार दुधौली क्षेत्रमा तीन वर्ष यता वर्षेनी पटक पटक हात्तीले मानविय तथा भौतिक क्षति गर्दै आएको छ । अन्नबाली नष्ट गर्नुका साथै घर पनि भत्काइदिने गरेको छ । क्षतिको यकिन तथ्यांक भने कुनै निकायसँग छैन । बस्तीमा हात्तीको आतंक बढेसंगै दुधौलीबासीको जनजिवन त्रसित छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट पर्सा राष्ट्रिय निकुञ्जमा आउजाउ गर्ने क्रममा हात्ती दुधौलीमा देखिएको हुन सक्ने डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख थिरबहादुर कार्कीको अनुमान छ । ‘जंगली हात्ती वर्षमा एकदेखि दुईपटक एक निकुञ्जबाट अर्को निकुञ्ज बसाँई सर्दछन् । यसरी बसाई सर्दा उनीहरूले पहिलादेखि प्रयोग गर्दै आएको बाटो प्रयोग गर्छन् ।’ डिभिजन प्रमुख कार्कीले भन्नुभयो । हात्तीलाई आफ्नो बाटो निर्वाध हिड्न दिन र नजिस्काउन उहाँको सुझाव छ ।

चुरे क्षेत्रमा घाँस काट्ने क्रममा दुधौली नगरपालिका-३ माथिल्लो खुट्टेपानीकी मनमाया तामाङ भालुको आक्रमणमा पर्नुभयो । तीन महिनाअघि भालुले लछारपछार गरेर कोर्तदा बनेका खतहरू अहिले पनि उहाँको शरिरमा ताजै छन् । घाउ सिलाएका डोबहरू देखाउँदै उहाँ भन्नुहुन्छ- ‘चोटको दुखाई झन्झन् बढिरहेको छ, राम्रो अस्पतालमा उपचार गर्न खर्च छैन, गाउँको स्वाथ्य चौकीमा उपचार छैन ।’

दाउँरा, घाँस र बनीबुतो गरेरै पाँच जनाको परिवार धान्दै आउनु भएकी उहाँ भालुको आक्रमणमा परेदेखि विहान, बेलुकाको क्षाक भीख मागेर टार्न बाध्य हुनुहुन्छ । ५० वर्षको उमेरमा लौरीको सहारा लिएर चामल, तरकारी, नून, भुटुनको जोहो गर्न उहाँलाई पिरलो छ । ‘पहिलाको जस्तो काम गर्न सक्दिन, एकै ठाउँ बसेर दिमागले गर्ने काम गर्न पढ्लेख छैन, बलले गर्ने ज्याला, मजदुरीको काम शरिर कमजोर भएपछि कसैले पत्याउँदैनन् ।’ जंगली जनावर पीडित तामाङले आँसु खसाल्दै दुखेसो पोख्नुभयो । उहाँ भन्नुहुन्छ, ‘मागेर खानलाई पनि सहज छैन, कसैकसैले त नानाथरी बचन लगाउँछन् ।’

बिरामी श्रीमान्, अपांगता अवस्थामा भएको छोरो र १२ वर्षीया छोरीको साथमा रहनुभएकी उहाँ आफूसमेत भालुको आक्रमणमा परेर रोगी भएपछि सहयोगको याचना गरिरहनुभएको छ । आफ्नो गरेर खान खेतबारी छैन । शारीरिक अस्वस्थ छ । शारीरिक अवस्थाका कारण पहिलाको जस्तो काम गर्न नसकेपछि मागी खान बाध्य भएको उहाँ बताउनुहुन्छ ।

जंगली भालुसँगै बाँदर, हात्ती, बाघ आतंक पनि बढेको जंगली जनावर पीडित बताउँछन् । किसानहरू वस्तुभाउलाई घाँस काट्न चुरे क्षेत्र जान्छन् । घाँस छर्ने जग्गाको अभावमा जंगल धाउनु परेको उनीहरूको भनाइ छ । चुरे जंगलको घाँस र दाउराको भरमा जीवन निर्वाह गदैँ आइरहेका स्थानीबासिन्दालाई पछिल्लो समय जंगली जनावरको आतंक बढेसंगै डर, भय र त्रास छ ।

गोठमा बाधँेको भँैसीलाई घाँस काट्न चुरे जंगल हिड्दै गर्नुभएकी अप्सरा पौडेल भरे घर सकुशल फर्किन सकु भनेर भगवान पुर्कादैँ हिड्ने गरेको बताउनुहुन्छ । ‘घाँस लगाउने जग्गा आफ्नो छैन, अलिकति भएको बारीमा अन्नबाली लगाउँछौ । पराल, ढोड बारीकै हाल्छौ । अरु हरियो घाँस दुई चार दिनलाई पनि पुग्दैन आफ्नो बारीकोले, त्यसैले जंगल जानै पर्छ,’ उहाँले भन्नुभयो, ‘यत्ति दुख नगरे नून भुटुन के गरेर खानु ?’

जंगलबाट बाँस, र्भुकुट, अम्रिसो, चुँवा लगायतका घाँस ल्याउने गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त घाँस वस्तुभाउका लागि पोषिलो पनि हुन्छ । वर्षौँदेखि चुरेको घाँसले दूध दिने भैँसी पालेर जीविका चलाउँदै आएका उक्त क्षेत्रका किसानहरू पाँच वर्ष उतासम्म जंगली जनावरहरूको आतंक यस्तो नभएको बताउँछन् । दुई वर्ष यता जंगली जनावरका कारण जंगलसंगै घर गाउँसमेत असुरक्षित भएको स्थानीय कुन्ता थापाको भनाइ छ ।

दाउरा बेचेर जीविकोपार्जन गदैँ आएकाहरू विहान सबेरै दाउरा खोज्न चुरे क्षेत्र नै जाने गरेका छन् । बर्षौँदेखि दाउरा बेचेर घरव्यवहार चलाउँदै आउनुभएका मंगले सार्की जंगली जनावरको त्रासले आफ्नो रोजीरोटीमा असर परेको बताउनुहुन्छ । विहान दाउरा बेचेर बेलुकाको छाक टार्ने सुकुम्बासी परिवारका सार्की ज्यानको बाजी राखेर त्रासका बीचमा पनि दाउरा लिन चुरे जानुको विकल्प नभएको गुनासो गर्नुहुन्छ ।

तल्लो खुट्टे्पानीकी बालकुमारी खड्का जंगली बाँदर पीडित हुनुहुन्छ । काठको अभावले भर्खरै बनेको घरमा ढोका, झ्याल हाल्न बाँकी छ । मेलापात, घाँस, दाउरा गएको बेला बाँदरले घरमा थन्काईएको मकै, कोसेबाली, बारीमा लगाएको अन्नबाली र सडकमाथि बगैँचामा लगाएको आँप, भुईकटहर सखाप नै बनाइदिने गरेको उहाँ बताउनुहुन्छ । ‘घरमा आफू एक्लो छु, मेलापातमा गएको बेला बाँदरले थन्काएको अन्नपातसमेत बाँकी राखिदिएन । बारी र सडकमाथि लगाएको बालीनानी, फलफूल त झन् सखाप नै बनाइदिन्छ,’ उहाँले भन्नुभयो,‘ बाँदर धपाउन घरमा बस्दा मेलापातको काम हुँदैन, मेलापात गर्न जाँदा घरबारीको अन्नबाली बाँदरले राखिदिदैँन ।’ दिनमा बाँदर र रातमा हात्ती आतंकले गाँस र सुरक्षित बाँसको चिन्ता भएको उहाँले सुनाउनुभयो ।

हात्ती, बाँदर र भालु जस्ता जंगली जनावरका कारण पिरोलिएका यी त दुधौली नगरपालिका क्षेत्रका केही प्रतिनिधि पात्रका रुपमा प्रस्तुत गरिएका उदाहरण मात्र हुन् । यी बाहेक बाघ, दुम्सी, चितुवा लगायतका जनावरबाट बर्षेनी पीडित हुनेको संख्या पनि कम छैन सिन्धुलीमा । तर, घटना न्यूनिकरण गर्न तर्फ स्थानीय सरकारको समेत चासो नहुनु दुखद् भएको बर्षेनी जंगली जनावरबाट पीडित बनेका स्थानीयले बताउँदै आएका छन् ।