काठमाडौं:= उदय सुब्बा निर्देशित चलचित्र ‘आकाशे खेती’ को अफिसियल पोस्टर सार्वजनिकसँगै सिनेमाघरमा आउने मिति तय गरिएको छ । चलचित्र आगामी फागुन २७ गते सिनेमाघरमा आउने भएको हो ।
चलचित्रको पोस्टरमा प्रमुख कलाकारहरू गौरव पहारी, विल्सनविक्रम राई ‘तक्के बुढा’, बुद्धि तामाङ ‘हैट’, नीता ढुंगाना, रवीन्द्र झा, रमा लिम्बू, जयनन्द लामा, शिशिर वाङ्देललगायतलाई समेटिएको छ । निर्देशक सुब्बाले चलचित्रले तिब्बती शरणार्थी र परिश्रम नै नगरी पैसा कमाउने युवाहरूको सपना र चाहनाको कथालाई देखाउने बताउनुभयो।
केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ, दिलप्रकाश याक्सो निर्माता रहेको चलचित्रको कथा निर्देशक आफैँले तयार पार्नुभएको हो । चलचित्रको संवाद कलाकार विल्सनविक्रम राई ‘तक्के बुढा’ ले लेख्नुभएको हो ।
एसएस इन्टरनेसनल फिल्मस् र तक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा विक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किराँतीको द्वन्द्व, रामजी लामिछाने र राजीवको नृत्य, विकास चौधरी र बादल लिम्बूको संगीत छ । चलचित्रलाई जिजी ग्रुपका करण श्रेष्ठले उपत्यका र एफडी कम्पनीले उपत्यकाबाहिर वितरण गर्दैछन् ।




















