पाँच महिनामा आठ खर्ब ३८ अर्बको आयात, पेट्रोलियममात्रै एक खर्बको आयात।

काठमाडौं:= अर्थविद्हरूले नेपालको अर्थतन्त्र जोखिमपूर्ण अवस्थामा रहेको बताइरहँदा डलरमा चाप पर्ने गरी आयात पनि चुलिँदै गएको छ । पेट्रोलियम पदार्थ आयातमा मात्रै झण्डै एक खर्ब खर्च भएको छ । त्यसो त निर्यात पनि बढेको छ तर त्यो कछुवा गति छ । चालु आवको पहिलो पाँच महिनामा निर्यात बढे पनि व्यापार घाटा अघिल्लो आवको तुलनामा ५४.७ प्रतिशतले बढेर सात खर्ब ३५ अर्ब पुगेको छ । गत आवको पहिलो पाँच महिनामा व्यापार घाटा चार खर्ब ७५ अर्बमात्रै थियो।

चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिना अर्थात् साउनदेखि मंसिरसम्ममा आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५९.५५ प्रतिशतले बढेको छ । गत आवको पहिलो पाँच महिनामा पाँच खर्ब २५ अर्ब मूल्य बराबरको आयात भएकामा चालु आवको मंसिरसम्ममा आठ खर्ब ३८ अर्बको आयात भएको भन्सार विभागले जनाएको छ । त्यस्तै गत आवको पहिलो पाँच महिनाका तुलनामा चालु आवको निर्यात १०५.६१ प्रतिशतले बढेको छ । गत आवको मंंिसरसम्म ५० अर्ब पाँच करोड बराबरको निर्यात भएकोमा चालु आवको सोही अवधिमा एक खर्ब दुई अर्बकोे निर्यात भएको छ । कुल वैदेशिक व्यापारमा गत आवको पहिलो पाँच महिनासम्म आयातको हिस्सा ९१.३  प्रतिशत रहेकामा यस्तो हिस्सा २.४५ प्रतिशतले घटेर चालु आवमा ८९.०७ प्रतिशत कायम भएको छ । वैदेशिक व्यापारमा निर्यातको हिस्सा २५.७२ प्रतिशतले बढेर १०.९३ प्रतिशत पुगेको छ । अघिल्लो आवको पहिलो पाँच महिनामा ८.७ प्रतिशत थियो ।

चालु आवको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेल आयात भएको भन्सार विभागको तथ्यांक छ । चालु आवको मंसिरसम्म ४९ अर्ब दुई करोडकोे डिजेल आयात भएको हो । त्यस्तै भटमासको कच्चा तेल आयात दोस्रोमा रहेको छ । पाँच महिनामा ३३ अर्ब ६६ करोड मूल्य बराबरको करिब ९८ करोड लिटरभन्दा बढी भटमासको तेल आयात भएकोे छ ।  पाम आयल २४ अर्ब ६१ करोड, पेट्रोल २४ अर्ब १० करोड र एलपी ग्याँस २३ अर्ब ११ करोड तथा टेलिफोन २० अर्ब ३५ करोडको आयात भएको छ ।

नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । ३० अर्ब ५५ करोडको भटमास तेल निर्यात भएको छ । नेपाली उद्योगीले भटमासको कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेका छन्् । सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेलजस्तै पाम तेल पनि कच्चा पदार्थ आयात गरी प्रशोधनपछि निर्यात हुने गरेको छ । चालु आवको पहिलो पाँच महिनामा २७ अर्ब ४२ करोडको पाम तेल निर्यात भएको छ । त्यस्तै तीन अर्ब ७३ करोड बराबरकोे गलैँचा तथा दुई अर्ब ६५ करोडको जुट तथा अन्य कपडा निर्यात भएको छ ।

चालु आवको पहिलो पाँच महिनामा नेपालले भारतबाट करिब पाँच खर्ब तीन करोड मूल्य बराबरका वस्तु आयात गरेको देखिन्छ भने ८४ अर्ब १५ करोडको वस्तु निर्यात गरेको छ । नेपालको व्यापार घाटा भारतसँग मात्रै चार खर्ब १५ अर्बभन्दा धेरै रहेको छ । चीनबाट एक खर्ब २२ अर्ब मूल्य बराबरका वस्तु आयात भएकोमा ३८ करोड १६ लाखको निर्यात भएको छ ।