युभेन्ट्सको सहज जित।

टुरिन:= इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सहज जित निकालेको छ । घरेलु मैदानमा युभेन्ट्सले क्याग्लिएरीलाई २-० ले पराजित गरेको हो । युभेन्ट्सको जितमा मोइस किन र फेडरिको बर्नरडेस्चीले गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलको ४०औँ मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई १-० को अग्रता दिलाउनुभयो । यस्तै ८३औँ मिनेटमा बर्नरडेस्चीले गोल गर्दै युभेन्ट्सको जित पक्का गर्नुभयो । यो जितसँगै पाँचौँ स्थानमा रहेको युभेन्ट्सको १९ खेलबाट ३४ अंक पुगेको छ । पराजित क्याग्लिएरी १० अंक जोडेर १९औँ स्थानमा रहेको छ ।

अर्काे खेलमा जिनोआ र एटलान्टाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीपछि एटलान्टा ३८ अंक जोडेर शीर्ष चारमा यथावत् रहेको छ । जिनोआ ११ अंक जोडेर १८औँ स्थानमा रहेको छ । यता फ्रेन्च लिग वान क्लब सन्डरल्यान्डमाथि ५-१ को सानदार जित निकाल्दै प्रिमियर लिग क्लब आर्सनलले इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनलमा स्थान बनाएको छ । आर्सनलको जितमा एडवर्ड एनकेटियाले हृयाट्रिक पूरा गर्दा निकोलस पेपे र चार्ली पाटिमोले समान एक गोल थप्नुभयो । सन्डरल्यान्डका नाथन ब्रोडहेडले एक गोल फर्काउनुभयो ।