एजेन्सी मुम्बई:= नेपाली चलचित्र बजारमा विदेशी चलचित्रले कब्जा जमाइरहेका छन् । हुन त यो अहिलेमात्रै होइन । धेरै पहिलेदेखि नेपाली चलचित्रभन्दा विदेशी चलचित्रलाई ठूलो स्थान दिने र दर्शकको संख्या उत्तिकै हुनेगर्छ ।
अहिले पनि नेपाली चलचित्र हलमा खासै नभएको अवस्थामा शुक्रबारबाट प्रदर्शनमा आएको साउथ सुपरस्टार अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा’ले नेपाली दर्शक तानिरहेको छ । यो चलचित्रमा विश्वभरबाट दर्शकको राम्रो उपस्थिति देखिएको छ । भारतीय बक्सअफिसमा उछाल नै ल्याएको छ ।
हिन्दी डबमा समेत राम्रो कमाइगरिरहेको यो चलचित्रले तमिल, तेलुगू, कन्नड र मलालयम भाषामा रेकर्ड ब्रेक व्यापार गरेको छ । प्रदर्शनको चार दिनमा चलचित्रले भारतमा मात्र १ सय २० करोड भारुको कमाइगरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
बक्सअफिस ट्रेक हृयान्डल सिनेट्रेकका अनुसार, विश्व बक्सअफिसमा ‘पुष्पा’ ले तेस्रो स्थान बनाएको छ । भारतमा प्रदर्शनको चार दिनमा १ सय २० करोड छापेको चलचित्रले अन्तर्राष्ट्रिय बजारमा २० करोड कमाएको सिनेट्रेकले उल्लेख गरेको छ । चलचित्रले चार दिनमै विश्वभरबाट १ सय ४० करोड ७ लाख कमाएको छ । चलचित्रले विदेशमा सबैभन्दा बढी नर्थ अमेरिकामा कमाई गरेको छ ।
रक्त चन्दन तस्करी कथामा निर्माण भएको चलचित्रलाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । अल्लु अर्जुनको स्टाइल, एक्सन, ब्याकग्राउण्ड स्कोर, सिनेम्याटोग्राफीले चलचित्रलाई बलियो बनाएको छ । सुकुमार निर्देशित चलचित्रमा रश्मिका मन्दाना पनि मुख्य भूमिकामा हुनुहुन्छ ।




















