मेरो ब्राण्डको कुनै मूल्य नै छैन, कलाकारले आफ्नो स्टारडमको ख्याल गर्नुपर्छ: अनमोल।

काठमाडौं:= नेपालका युवास्टार अनमोल केसी पछिल्लो समय खासै मिडियामा देखिनुहुन्न । कोरोना कहरबाट चलचित्रको काम लगभग ठप्प भएको अवस्था भएकाले पनि अनमोललाई मिडियामा खासै देख्न नपाइएको हो । अनमोलले गरेको चलचित्र मध्ये अधिकांश सुपरहिट छन् त्यसैले पनि सबैजसो निर्माताहरू अनमोललाई नै लिएर चलचित्र बनाउन चाहन्छन् । यस्तै थुप्रै ब्राण्ड पनि अनमोलसँग जोडिन चाहन्छन् ।

यसैबीच बुधबार एक प्रेसमिटमा अनमोलले आफ्नो पारिश्रमिक यति नै भन्ने नभएको बताउनुभएको छ । काठमाडौंको एभरेष्ट होटलमा एक कार्यक्रमको आयोजना गर्दै ‘इम्पायर इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेस’ले ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । सोही कार्यक्रममा सञ्चारकर्मीको प्रश्नमा अनमोलले आफ्नो ब्राण्ड भ्यालु अनुसार नै पारिश्रमिक लिएको बताउनुभयो ।

‘तपाइँले खासै केही काम नगर्दा पनि आम्दानी धेरै छ, एउटा ब्राण्डमा जोडिएको कति लिनुहुन्छ ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा भन्नुहुन्छ, ‘मैले विदेशी कलाकारले भन्दा त धेरै नै कम लिएको छु । आफ्नो ब्राण्ड भ्यालुनुसारै पारिश्रमिक लिएको छु ।’ यस्तै तपाइँको ब्राण्ड भ्यालु कति हो भन्ने प्रश्नमा अनमोलले भन्नुहुन्छ, ‘मेरो नामजस्तै मेरो ब्राण्डको कुनै मूल्य नै छैन ।’

यस्तै नायक अनमोलले पछिल्लो समय नायकहरू म्युजिक भिडियोमा काम गरिरहेको अवस्थामा आफू पनि म्युजिक भिडियोप्रति सकारात्मक रहेको बताउनुभयो । ‘मेरो ड्याडी म्युजिक भिडियोको पहिलो मोडल हुनुहुन्छ । म म्युजिक भिडियोप्रति निक्कै सकारात्मक छु,’ उहाँले भन्नुभयो, ‘तर, अहिले मेरो फोकस भनेको चलचित्रमै छ । यदि मेरो चलचित्रमा नै ४-५ वटा गीत छ भने मलाई लाग्दैन कि अहिलै मैले भिडियो गर्न आवश्यक छ । म अहिले चलचित्रमै फोकस छु ।’

अनमोलले विश्वास कमाइसकेको ब्राण्ड ‘इम्पायर इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेस’सँँग जोडिन पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आफू भविष्यमा अध्ययनका लागि विदेश जान सक्ने बताउनुभयो । अनमोलले भन्नुभएको छ, ‘युट्युबबाट पनि अहिले अध्ययन गर्न सकिन्छ । मलाई नेपालमै केही गरुँ भन्ने चाहना छ । पछि अध्ययनका लागि विदेश जान सक्छु । किनकि, अध्ययनको कुनै सीमा छैन ।

जति पढे पनि मान्छेलाई पुग्दैन । अहिले चाहिँ म नेपालमै ठीक छु ।’ विदेश गएर पढ्नु नराम्रो नभएको अनमोलको भनाइ छ ।विदेशमा गएर प्राप्त गर्ने ज्ञानलाई नेपालमा लगाउन उहाले जोड दिनुभएको छ । अनमोल भन्नु हुन्छ, ‘विदेश त्यक्तिकै विकशित भएको त होइन होला, त्यहाँ केही न केही एक्स्ट्रा ज्ञान छ । त्यसलाई नेपाल ल्याएर केही गर्न सक्यौं भने नेपालका लागि राम्रो कुरा हो ।’