नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा विवाद, बुधबार गर्ने भनिएको मतदान आज हुँदै।

[ पुरन साह ] 

जनकपुरधाम:= बुधबार सभापतिका दुई उम्मेदवारहरूबीच मत बाझिएपछि नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा विवाद भएको छ । देउवा समूहका उम्मेदवार कृष्णप्रसाद यादव समूहले बुधबार मतदान गर्नुपर्ने र अर्का समूहले राति धाँधली हुन सक्ने भन्दै बिहीबार मात्र मतदान गर्नुपर्ने अडान लिएपछि विवाद भई भिडन्तको स्थिति सृजना भएको हो । दुई समूहबीच झडप र समान्य कुटाकुटसमेत भएको छ । कुटाकुटमा कांग्रेसका केही कार्यकर्ता घाइते भएका छन् ।

निर्वाचन समितिले प्रदेश २ मा बुधबार नै निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो र नियोजित र अप्रत्यासित रूपमा मतदानमा विलम्ब गरिरहेको छ । स्रोतका अनुसार देउवा समूह बुधबारै मतदान गर्न चाहन्छ भने निधि समूहलाई कोइराला समूहले समर्थन गरे पनि सम्पूर्ण मतदाता सहमतिमा नआइसकेकाले रातभर प्रयासका लागि बिहीबार मात्र मतदान गर्न चाहेको छ ।

जनकपुरधाम विपक्षी उम्मेदवारकै गृहजिल्ला रहेको भए पनि धाँधलीको आरोप लगाएर अर्को पक्षलाई बदनाम गर्न चाहेको पर्साका एक मतदाताले बताए । धाँधलीको कुरा गरी विवाद सृजना गर्न खोज्नु शंकास्पद रहेको चिसोमा बाहिरबाट आएका मतदाताको भनाइ छ । निर्वाचन समितिले बुधबारको समयतालिका राखेका बुधबारै मतदान हुनुपर्ने उनीहरूको माग छ । आफूहरू बाहिरका भएकै कारण सिधा कुटाकुटको स्थितिको सृजना गरिएको समेत उहाँको आरोप छ ।

नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा उम्मेदवारी दिएका कृष्णप्रसाद यादवले आफूलाई जनकपुरधाम बाहिरको भन्दै हेप्ने काम भएको बताउनुभएको छ । पाँच हजार मतदाताले अत्यधिक चिसोमा काठमाडौंमा मतदान कसरी गरे ? प्रश्न गर्दै कृष्णले भन्नुभयो, ‘म स्वस्थ्य प्रतिस्पर्धाको पक्षमा छु, कुटाकुटमा नजान सबैलाई आग्रह गर्दछु ।’

यता, राम समूहले भने गृहमन्त्री बालकृष्ण खाँण आफैँ जनकपुरधाम आएर निर्वाचन गराउन चाहेकाले धाँधली हुन सक्ने भन्दै बिहीबार मात्र मतदान गर्नुपर्ने माग अघि सार्नुभएको छ । यसैबीच निर्वाचन बिहीबार बिहान ८ बजेसम्मको लागि स्थगित भएको निर्वाचन समितिले जनाएको छ ।