म्याड्रिड:= स्पेनिस ला लिगामा सेभिया र बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेका छन् । मंगलबार राति भएको खेलमा घरेलु टोली सेभिया बार्सिलोनासँग एक÷एक गोलको बराबरीमा रोकिएको हो । सेभिया १० खेलाडीमा समेटिए पनि बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन ।
सेभियाका पपु गोमेजले गोल गर्नुभयो । बार्सिलोनाका रोनाल्ड अराउजोले गोल गर्नुभएको थियो । प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता सेभियाले लिएको थियो । ३२औँ मिनेटमा गोमेजले कप्तान इभान राकिटिकको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह बढाउनुभयो ।
सेभियाको गोलपछि आक्रामक बनेको बार्सिलोनाले ४५औँ मिनेटमा बराबरी गोल फर्काएको थियो । रोनाल्डोले औसमाने डेम्वेलेको पासमा गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउनुभयो ।
सेभिया ६४औँ मिनेटमा १० खेलाडीमा समेटियो । बार्सिलोनाका जोर्डी अल्बासँग अनावश्यक विवादमा उत्रिएपछि जुलेस कुन्डेलाई रेफ्रीले सोझै रातो कार्ड देखाउनुभएको थियो । त्यसपछि बल पोसेसनमा पकड जमाए पनि बार्सिलोनाले गोल थप्न भने सकेन ।
५९ प्रतिशत बल पोसेसनमा राखेको बार्सिलोनाले २३ वटा पोस्ट प्रहार गरेको थियो । बार्सिलोनाको लगातार प्रयासमा सेभियाको रक्षापंक्ति बाधक बन्यो । जारी लिगमा बार्सिलोनाको यो सातौँ र सेभियाको पाँचौँ बराबरी हो । बार्सिलोनाका औसमाने डेम्वेले ‘म्यान अफ दी म्याच’ हुनुभयो ।
बराबरीसँगै दोस्रो स्थानमा रहेको सेभियाले १८ खेलबाट ३८ अंक बनाएको छ । सातौँ स्थानमा रहेको बार्सिलोनाको २८ अंक छ । शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ४३ अंक छ । तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अंक छ ।
मंगलबार राति नै भएको अर्काे खेलमा भिल्लारियलले डिपोर्टिभो अलाभेसलाई ५-२ गोलले हरायो । घरेलु मैदानमा भिल्लारियललाई जिताउन जेरार्ड मोरेनोले १८औँ र ८८औँ मिनेटमा तथा बोउलाय डिएले २७औँ र ७६औँ मिनेटमा दुई/दुई गोल गर्नुभयो । यरेमी पिनोले ७९औँ मिनेटमा एक गोल थप्नुभएको थियो ।
अलाभेसका पेरे पोन्सले ४४औँ र जोसेलुले ६५औँ मिनेटमा गोल गर्नुभएको थियो । जितसँगै २५ अंक बनाएको भिल्लारियल नवौँ स्थानमा उक्लिएको छ । पराजित अलाभेसले रेलिगेसन छल्न सकेको छैन । १५ अंक बनाएको अलाभेस १८औँ स्थानमा छ ।
यस्तै अर्को खेलमा भ्यालेन्सियाले रेलिगेसनमा रहेको लिभान्तेलाई ४-३ गोलले हरायो । लिभान्तेको घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियालाई जिताउन गोन्कालो ग्वेडेस र कार्लोस सोलरले दुई/दुई गोल गर्नुभयो । लिभान्तेका जोस कम्पाना, रोगर मार्टी र इनिस बार्धीले गोल फर्काउनुभएको थियो ।
खेलमा सुरुवाती अग्रता लिभान्तेले लिएको थियो । २१औँ मिनेटमा कम्पानाले गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । २४औँ मिनेटमा रोगरले जोस लुइस मोरालेसको पासमा गोल गर्दै लिभान्तेको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि जोसिएको भ्यालेन्सियाले ४४औँ मिनेटमा पहिलो गोल फर्कायो ।
ग्वेडेसले हुगो डुरोको पासमा गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । ५०औँ मिनेटमा कार्लोस सोलारले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ७२औँ मिनेटमा सोलारले ग्वेडेसको पासमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाउनुभयो । ८५औँ मिनेटमा ग्वेडेसले व्यक्तिगत दोस्रो गोल गर्दै भ्यालेन्सियालाई जिततर्फ अग्रसर गराउनुभयो ।
दोस्रो हाफको इन्जुरी समयमा लिभान्तेका बार्धीले रोवर्टो सोडाडोको पासमा गोल गरे पनि टोलीको हार टार्न सक्नुभएन । ५१ प्रतिशत बल पोसेसनमा राखेको लिभान्तेले १५ वटा पोस्ट प्रहार गरेको थियो । १५ वटै पोस्ट प्रहार गरेको भ्यालेन्सियाले अन्ततः रोमाञ्चक जित निकाल्यो । भ्यालेन्सियाका कार्लोस सोलर ‘म्यान अफ दी म्याच’ हुनुभयो ।




















