पुनर्निर्माणसम्बन्धी बाँकी काम समयमै पूरा गर्न प्रधानमन्त्री देउवाको निर्देशन।

काठमाडौं:= प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माणसम्बन्धी बाँकी काम समयमै पूरा गर्न निर्देशन दिनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाको अध्यक्षतामा बुधबार बसेको निर्देशक समितिको २१औँ बैठकमा पुनर्निर्माणका बाँकी कार्य छिट्टै पूरा गर्न निर्देशन दिनुभएको हो । उहाँले पुनर्निर्मासम्बन्धी कार्यलाई सफलतापूर्वक सम्पन्नताको चरणमा पु¥याउन सहयोग गर्नुहुने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा निर्देशक समितिका उपाध्यक्ष एवं नेकपा (एमाले)का नेता सुवास नेम्वाङले पुनर्निर्माणका अनुभव र सिकाइलाई संस्थागत सम्झनामा राख्न सुझाव दिँदै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई थप स्वायत्त र अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणबाट प्राप्त उपलब्धिको चर्चा गर्दै विपद् उत्थानशील विकासलाई राष्ट्रिय विकास योजनाको अभिन्न अंगका रूपमा लैजानुपर्ने र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विशिष्ट कानुनी अधिकारसहित आवश्यक वित्तीय व्यवस्थापनका साथै जनशक्ति उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

निर्देशक समितिको बुधबारको बैठकले प्राधिकरणअन्तर्गत भइरहेका कार्य तथा हक, दायित्व, सम्पत्ति, स्रेस्ता, कागजात तथा विवरणको हस्तान्तरण सम्बन्धमा पनि निर्णय गरेको छ । बैठकले गत मंसिर २१ देखि २३ गतेसम्म भौतिक एवं विद्युतीय माध्यमबाट काठमाडौंमा सम्पन्न भएको ‘नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ कोभिड–१९ को महामारीका बीचमा समेत अत्यन्त सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरेको छ ।

सम्मेलनमा भौतिकरूपमा उपस्थित भएर वा विद्युतीय माध्ययमबाट सम्बोधन गर्नुभएका विभिन्न मुलुकका विदेशमन्त्री, मन्त्री, उपमन्त्रीलगायत प्रतिनिधि तथा विभिन्न द्विपक्षीय एवं बहुपक्षीय दातृ निकायका विशिष्ट पदाधिकारी तथा प्रतिनिधिलाई धन्यवाद दिइएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्री, मुख्यसचिव शंकरदास वैरागी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, पुनर्निर्माण प्राधिकरण एवं विभिन्न मन्त्रालयका सचिव, निर्देशक समितिका सदस्य, प्राधिकरणका कार्यकारी समिति सदस्यलगायतको उपस्थिति थियो ।

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा ३(३) को व्यवस्था तथा सोअनुरूप नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ मंसिर १५ गतेको निर्णयानुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल यही पुस ९ गतेदेखि सकिँदैछ ।