महँगो डिभोर्स: पत्नीसँग सम्बन्ध विच्छेद गरेबापत दुबईका शासकले ७३ करोड डलर तिर्नुपर्ने।

एजेन्सी:= दुबईका अर्बपति शासक शेख मोहम्मद बिन राशिद अल मकतुम र उहाँकी पूर्वपत्नी प्रिन्सेस हया बिन्त अल हुसेनबीच सम्बन्ध बिच्छेद हुने भएको छ । सम्बन्ध बिच्छेदका लागि मकतुमले पत्नीलाई ५० करोड पाउण्ड अर्थात् करिब ८० अर्ब रुपैयाँभन्दा धेरै रकम दिनुपर्ने भएको छ । यसलाई बेलायती कानुनी इतिहासमा सम्बन्ध विच्छेदको सबैभन्दा महँगो भनिएको छ ।

बेलायतको अदालतले मंगलबार गरेको फैसलाअनुसार दुबईका शासनले पत्नी र सन्तानका लागि सो रकम तिर्नुपर्ने भएको हो । बेलायतको कानुनी इतिहासमा यो डिभोर्सलाई सबैभन्दा ठूलो डिभोर्सको रूपमा व्याख्या गरिएको छ ।

छैटांै श्रीमती हाया, १४ र ९ वर्षीय दुई सन्तानका लागि रकम तिर्नुपर्ने भएको हो । राजकुमार हाया जोर्डनका पूर्वराजा हुसेनकी छोरी हुनुहुन्छ । अदालतको फैसलाअनुसार राजकुमारी हायाले लण्डनको दरबार र एघम सुरेस्थित निवाससमेत पाउने हुनुभएको छ ।

साथै नियमित तलबसहित नर्सको सुविधा, सुरक्षाकर्मी, सवारीसाधन र थुप्रै घरपालुवा जनावरका लागि स्याहार गर्नसमेत शेखले रकम दिनुपर्ने भएको छ । साथै दुई सन्तानका लागि वार्षिक रूपमा ७४ लाख अमेरिकी डलर पनि तिर्नुपर्ने भएको छ । युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री रहनुभएका अर्बपति शेख मोहम्मदले सन् २००४ मा राजकुमारी हायासँग विवाह गर्नुभएको थियो ।

सन् २०१९ मा दुबईको दरबारबाट भागेर हाया बेलायत पुग्नुभएको थियो । जहाँ उहाँले आफ्नो ज्यान खतरामा रहेको भन्दै बेलायतसँग आश्रय लिनुभएको थियो । जवकि यसअघि नै शेखले आफ्ना छोरीलाई अपहरण गरी शेख लतिफा र शेख शाम्सालाई उनीहरूको इच्छाविपरीत दुबई फिर्ता ल्याउनुभएको थियो ।

७२ वर्षीय शेखले अपहरणको आरोपलाई अस्वीकार गर्दै पूर्वपत्नीको नाममा एक कवितासमेत लेख्नुभएको थियो । यद्यपि हाया बेलायत पुगेपछि पनि धेरै पटक धम्की आएको बताउनुभएको थियो । शेखले उहाँको मोबाइल फोनसमेत हृयाक गरेको समाचार प्रकाशित भएका थिए । फैसलाको क्रममा न्यायाधीश मुरका अनुसार हाया र उहाँका दुई सन्तानको अवस्था जोखिममा परेको छ । साथै उनीहरूको सुरक्षा आवश्यकता रहेको फैसलाको क्रममा उल्लेख गरिएको छ ।